– वीरेन्द्र केसी
सिमलपानी, अर्घाखाँची – १५ वर्षको अवधीमा जम्मा ४८ वटा झोलुङे पुल निर्माण भएका छन । पुल निर्माण कार्य सुस्त गतिमा छ । सुगम क्षेत्रमा पुल निर्माण भएपनि दुर्गम क्षेत्रका वस्तीका गाउँले वर्षादको बेला खोला तर्न नसक्दा गाउँमा धेरै विरामीले उपचारै नपाएर ज्यान गुमाउने क्रम रोकिएको छैन ।
जिल्लाका सुगम ठाउँमा पुल निर्मँण भैरहेपनि अति दुर्गम गाउँमा राज्यको पहुच पुग्न अझै सकेको छैन । १५ वर्षमा निर्माण भएका ४८ वटा र हाल निर्माणाधीन रहेका ४१ वटा पुल धेरै सुगम गाउँ र शहरी क्षेत्रमै छन । सदरमुकामबाट टाढाका वस्तीका खोलामा पुल नभएको कारण गाउँलेले सास्ती खोप्दै आएका छन । सिद्धाराको कुशुल, राक्से खोलमा वर्षादको बेला खोला तर्न नसक्दा वर्षेनी दुई-तीन जना खोलाले बगाउने गर्छ, सिद्धारा गाउँका माधव पौडेलले भने, जंगल र पहाडको बीचमा वस्तीकै कारण विरामी परेको बेला खोला तरेर स्वास्थ्य संस्थामा जान नसक्दा घरमै विरामीले उपचार नपाई अकालमै ज्यान जाने, विद्यार्थीहरु स्कुल जानबाट वञ्चित हुने जस्ता समस्या छन । वर्षाको बेला एक गाउँले अर्को गाउँ हेर्दै बस्दै गर्नु बाहेक अरु विकल्प छैन ।
सिद्धारा, सिमलपानी, जलुके गाविसका वस्तीहरु झाडी जंगलको बीचमा भएकाले वर्षादको बेला एक गाउँबाट अर्को गाउँमा आवत जावत गर्न र खाद्य सामाग्री ल्याउन समस्या छ । वर्षाको कारण खोला तर्न नसक्दा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी समेत वर्षमा ६ महिना विद्यालय आउने जनजागृती उमावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको पौडेलले बताए । पुल निर्माण गर्न माग गरेको वर्षौ भैसक्दा समेत ध्यान पुग्न सकेको छैन । पुल निर्माण सम्पन्न भएका गाउँमा अर्थतन्त्र पनि बलियो बन्दै गएको छ । वर्षादको बेला खेतबारीमा अन्न उत्पादन गर्न र उत्पादिन तरकारी लगायत खाद्य वस्तु बजारसम्म ल्याई बिक्री गरेर आम्दानी लिने गरेका छन । वर्षादको बेला खोलामा बाढी आउँदा आवतजावत ठप्प हुने ठाउँमा पुल बन्न अझै बाँकी नै छ ।
पुल निर्माण क्षेत्र हेर्ने जिल्ला विकास समितिको प्राविधिक कार्यालयका ओभरसियर हुमबहादुर लामिछानेले जिल्लाका विभिन्न ठाउँमा ४१ वटा पुल निर्माणधीन रहेको र असार मसान्तसम्म ४ वटा निर्माणसम्पन्न गर्ने तयारी रहेको बताए । जसका लागि ५३ लाख रुपैया खर्च भएको छ । वर्षमा ५ वटासम्म झोलुङे पुल निर्माण भैरहेका छन, उनले भने, विकट विभिन्न गाउँबाट ९८ वटा पुल निर्माणको माग आएको छ । जिल्लामा पुल निर्मँण गर्न नपर्ने कुनै गाविस छैन । २०५४ सालदेखी जिल्लामा झोलुङे पुल निर्माण गर्न शुरु गरिएको छ । सुगम ठाउँमा पुल धेरै बनेको र अब दुर्गम गाउँका खोलामा गाउँलेको माग अनुसार पुल निर्मँण गर्ने योजना रहेको जिविसले जनाएको छ । पुल निर्माण भएका गाउँमा सर्वसाधारणलाई धेरै सुविधा भएको छ ।
वर्षाको बेला खोला आवतजावत नै ठप्प हुने गाउँमा अहिले पुल निर्माण भएपछि घास दाउरा, गाईभैसी, बाख्रा, खाद्यन ओसार पसार गर्न सजिलो भएको छ । जिल्ला विकास समितिबाट निर्मँण भएका यस्ता पुल छोटो समयमै जीर्ण हुने गरेका छन । पुल निर्मँणको बेला गुणस्तरहीन सामाग्रीको प्रयोगले अधिकांश पुलहरु पिल्लरबाट फाटने, तार जाली, नट फुस्किने गरेका छन ।
Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।