पशुपति आर्यघाटस्थित अब विद्युतीय चिता बन्दैछ। दाउरा प्रयोग गर्नु नपर्ने विद्युतीय चिताको तयारी अन्तिम चरणमा पुगेको छ। आधुनिक चिता जडान गर्न दुईवटा विद्युतीय मेसिन ल्याइसकिएको छ। भारतको कलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ सर्भिसबाट विद्युतीय मेसिन, प्रदूषण नियन्त्रण संयन्त्र, र चिम्नीसमेत गरी दुई करोड ५९ लाख रुपैयाँमा उपकरण ल्याइसकिएको छ। अब केही पूर्वाधार र मेसिन जडान गर्न बाँकी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुशील नाहटा बताउँछन्। दुई महिनापछि नै विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याउने अन्तिम तयारी भइरहेको छ,’ सदस्य सचिव नाहटाले भने। विद्युतीय चिता (इलेक्ट्रोनिक क्रिमिटोरियम)मा अब मेसिनका साथै निरन्तर विद्युत आपूर्तिका लागि ट्रान्सफर्मर र जेनेरेटर जडान गर्न बाँकी छ।
दाउरा प्रयोग गरी पशुपति आर्यघाटस्थित चितामा शव जलाउँदा बाग्मती नदी र वातावरण प्रदूषण भइरहेकोमा स्थानीयले असन्तुष्टि जनाउँदै आएका थिए। काठमाडौंको बढ्दो जनसंख्या र दाउराबाट शव जलाउँदा खर्च र प्रदूषण बढ्नु साथै समय धेरै लाग्ने भएकाले विद्युतीय चिता निर्माण अघि बढाएको सदस्यसचिव नाहटाले बताए।
आर्यघाटस्थित परम्परागत चितामा अहिले दैनिक ४० देखि ५० वटा शव जलाउने गरिएको छ। विद्युतीय चितामा १२ सय डिग्री सेन्टिग्रेड तापक्रममा प्रदूषणरहित तरिकाले एक घन्टाभित्र शव जलिसक्ने कोषका इन्जिनियर अक्रुरसिंह महत बताउँछन्। चार करोड लगानीको भवन बनिसकेको छ। शव जलाउनुअघि गरिने आवश्यक धार्मिक संस्कार पूरा गर्न हल निर्माण गरिएको छ। त्यस्तै, शवलाई केही दिन चिसोमा राख्न सकिने व्यवस्था गरिएको छ। ‘विधिअनुसार दाहसंस्कारका सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिन्छ,’ सदस्यसचिव नाहटाले भन्छन्,