थारु संघ संस्थाले आह्वान गरेको बन्दका कारण दोस्रो दिन पनि पाँच जिल्लाको जनजीवन प्रभावित

दाङ । थारु संघ संस्थाले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पश्चिम तराईका पाँच जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्दको अवज्ञा गरेको भन्दै दाङको खैरा र नर्तिमा बन्दकर्ताले दुई वटा बस तोडफोड गरेका छन् । 
तुलसीपुरबाट घोराही जाँदै गरेको बस र भारतको दिल्लीबाट काठमाडौं आउँदै गरेको रात्री बसमा तोडफोड गरिएको हो । 
बन्दका कारण दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको जनजीवन ठप्प बनेको छ । यी जिल्लामा यातायातका साधन चलेका छैनन् भने बजार र शैक्षिकसंस्था ठप्प छन् । ललितपुरको एक घरमा कम्लहरी राखिएकी दाङ देउखुरी लालमटीयाकी १२ बर्षिया सृजना चौधरीको जलेर मृत्यु भएको घटनाबारे छानविन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर बन्द आह्वान गरिएको हो । 
घरधनीले जलेर दुर्घटना भएको जनाएपनि मृतक बालिकाका परिवारले भने हत्या भएको आरोप लगाउँदै छानविनको माग गरेका हुन् । 
rss