नेपाली काँग्रेस संविधानसभाको चुनावी प्रक्रियामा सहभागी हुन नेकपा-माओवादीलाई मनाउने प्रयासमा

काठमाडौं । नेपाली काँग्रेसले संविधानसभाको चुनावी प्रक्रियामा सहभागी हुन नेकपा-माओवादीलाई मनाउने प्रयास थालेको छ ।

 

कांग्रेस सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष मोहन बैद्यसंग भेटी चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन् । राजधानीको धापासीस्थित बैद्यको निवास पुगेका कोइरालाले चुनावबाटै सबै समस्याको समाधान हुने भन्दै वार्ता र सम्बादको माध्यमबाट समस्याको समाधान खोज्न र संविधानसभा चुनावी प्रक्रियामा अवरोध नगर्न बैद्यलाई आग्रह गरेका हुन् ।

चारदलीय उच्चस्तरीय राजनीतिक समितिका संयोजक समेत रहेका सभापति कोइरालाले चुनावका लागि वातावरण बनाउन बस्ने राजनतिक दलका बैठकहरुमा नेकपा माओवादीलाई पनि सहभागी गराउने आश्वासन दिएको बताईएको छ । संयोजक बनेपछि कोइरालाले दौडधुपलाई तिब्रता दिएका हुन् । बैद्यले भने चार दलले मात्रै निर्णय गरेर आफूहरुलाई बेवास्ता गरिएकाले बाध्य भएर आन्दोलनमा जानु परेको बताएका थिए ।


 स्रोतका अनुसार चार दलीय राजनीतिक समितिका तर्फबाट कोइरालाले नेकपा माओवादीलाई औपचारिक रुपमा वार्तामा आमन्त्रण गर्ने सहमति दुबै नेताबीभ भएको छ । वार्ता अघि बैद्यले ३३ राजनीतिक दलका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । वार्तामा दुबै दलका अन्य बरिष्ठ नेताहरु पनि सहभागी थिए ।

 

RSS