– माधव अर्याल
पाल्पा – जिल्लाका अधिकांश शिक्षक स्थानीय निकायका प्रतिनिधि बनेर बैठकमा सहभागी हुन जाँदा विद्यार्थीको पढाइ प्रभावित बनेको छ । उनीहरू दलीय प्रतिनिधि बनेर गाविस साथै अन्य सभा, समारोह, बैठक, संघसंस्थाको कार्यक्रममा जाने गरेका हुन् ।
सरकारी विद्यालयको पढाइ गुणस्तर बढ्न नसकेका बेला विद्यालय समयमै शिक्षक राजनीतिमा सक्रिय भएपछि विरोध सुरु भएको छ । हाजिरी भएर, बिदा लिएर गाविसको बैठकका साथै पार्टी प्रतिनिधिका रूपमा सभा, समारोहमा शिक्षक सहभागी हुन नहुने मस्यामका अभिभावक रुद्रप्रसाद श्रेष्ठले बताए । उनले यस्तो अवस्थाले विद्यार्थीको पढाइ प्रभावित भएको र शिक्षकले विद्यार्थीलाई समय दिन नसकेको बताए ।
गाविसमा पार्टी प्रतिनिधि, विद्यालयका कार्यक्रम, सामुदायिक वन वा अन्य संघसंस्थाको बैठकमा शिक्षक पार्टी प्रतिनिधि भएर हिँड्ने गरेकामा यसको नियन्त्रण हुनुपर्ने श्रेष्ठले बताए । ‘जुनसुकै कार्यक्रम भयो भने पनि पार्टी प्रतिनिधि भनेर आउने शिक्षक नै हुन्,’ उनले भने, ‘कहिलेकाहीं विद्यालय पोसाकमै पार्टी प्रतिनिधि भएर आइदिन्छन् । यो दुःखको कुरा हो ।’ ग्रामीण भेगमा शिक्षक नै स्थायी बसोबास गर्ने भएकाले दलहरू पनि उनीहरूलाई नै प्रयोग गर्न चाहेका हुन्छन् ।
अभिभावकले शिक्षकहरू विद्यालय नगएर पार्टी प्रतिनिधि बन्दै कार्यक्रममा हिँड्ने प्रवृत्तिको निरुत्साहन गर्न माग गरेका छन् । शिक्षक हिँडेपछि विद्यार्थी शिक्षक छैनन् भनेर विद्यालयमा नबस्ने समस्या छ । स्रोत व्यक्तिसमेत राजनीतिक दलको जिल्ला, क्षेत्रीय समितिमा बसेर राजनीति गर्छन् । कतिपय विद्यालयका प्रधानाध्यापक जिल्ला सदस्य, क्षेत्रीय समितिमा रहेर काम गर्दै आएका छन् । तानसेन नगरपालिका बाहेक अन्य प्रायः गाविसमा शिक्षक यो वा त्यो दलको प्रतिनिधि बनेर हिँड्ने गरेका छन् । एमाओवादी, एमाले, कांग्रेस, राष्ट्रिय जनमोर्चा पार्टीको जिल्लास्तरीय तथा गाविसका अधिकांश कार्यकर्ता शिक्षक नै छन् ।
चिदीपानीकी अभिभावक सीतादेवी पन्थीले पढाउन छाडेर गाउँका सबैजसो कार्यक्रम र बैठकमा जान नहुने बताइन् । जिल्लामा शिक्षकको तलब खाएर गाविस र अन्य संघसंस्थामा पार्टी प्रतिनिधि भएर जाने शिक्षक झन्डै २ सय ५० रहेको स्वयं राजनीतिक दलकै नेताहरू अनुमान गर्छन् । पार्टी प्रतिनिधि भएर जाँदा एक गाविसको बैठकमा कम्तीमा एकदेखि तीन जनासम्म शिक्षक रहेका हुन्छन् । संघसंस्था र गाविसको बैठकमा जाँदा भत्ता पाइने र राजनीति गर्न पाइने भएकाले शिक्षक पढाउन छाडेर पार्टी प्रतिनिधि हुने क्रम बढेको हो । शिक्षा कार्यालयले निर्माण गरेको शिक्षा समिति र कर्मचारीले पनि शिक्षकलाई राजनीति गर्न रोक्न नसकेको अभिभावकको गुनासो छ ।
शिक्षा अधिकारी प्रेमनाथ पौडेल शिक्षक गाविस वा अन्य संघसंस्थाको कार्यक्रममा पार्टी प्रतिनिधि बनेर गएको स्वीकार्छन् । क्षेत्रीय शिक्षा निर्देशनाले पोखराले तानसेनमा आयोजना गरेको ‘शैक्षिक सुधारका लागि सञ्चार सहकार्य’ विषयक कार्यक्रममा बोल्दै पौडेलले कतिपय कार्यक्रममा आफैसंँग शिक्षक दलको प्रतिनिधि भएर बसेको बताए । ‘तर अहिले विद्यालय निरीक्षक, स्रोत व्यक्ति, प्रधानाध्यापकको बैठकमा यसरी दलीय प्रतिनिधि बनेर जाने शिक्षकलाई कारबाहीको सिफारिस गर्न निर्देशन दिइएको छ,’ उनले भने, ‘अब कमी हुँदै जाने विश्वास लिएका छांै ।’ कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी मेघराज शर्माले शिक्षकलाई राजनीतिबाट अलग राख्न सके सरकारी विद्यालयको गुणस्तरमा सुधार आएर नतिजा राम्रो आउने बताए ।
उनले विद्यार्थीमा पढ्नुपर्छ र शिक्षकलाई पढाउनुपर्छ भन्ने भावना जागृत गराउन सके गुणस्तर सुधारिने बताए । शिक्षा ऐन २०५८, शिक्षा नियमावली ०५९ को १३३ -ग) मा कुनै राजनीतिक वा अवाञ्छनीय प्रभाव पार्न नहुने उल्लेख छ । बिनासूचना विद्यालयमा अनुपस्थित भए र मादक पदार्थ सेवन गरी विद्यालय आए र प्रमाणित भएमा कारबाही हुने उल्लेख छ । क्षेेत्रीय शिक्षा निर्देशक विष्णुबहादुर द्वारेले कुनै पनि सरकारी कर्मचारी वा शिक्षक राजनीतिक दलको सदस्य बनेर कार्यक्रममा जान नपाइने बताए । विद्यालय छाडेर राजनीति गर्न र परिषद बैठकमा गएको पाइएमा कारबाही गर्न शिक्षा अधिकारी पौडेललाई प्रस्ट निर्देशन दिए ।
‘यस्तो कार्य ऐन, नियमविपरीत भएकाले नियन्त्रण गर्नुपर्छ,’ उनले भने, ‘शिक्षकलाई प्रत्यक्ष राजनीतिमुक्त बनाउने अभियानमा लाग्नुपर्ने बेला भएको छ ।’ उनले शिक्षकका पेसागत संघसंगठनसँग बसेर छलफल गरी निष्कर्ष निकाल्नुपर्ने बताए ।