– कुलचन्द्र न्यौपाने
राष्ट्रपति रामवरण यादवले चाँडै चुनावको मिति घोषणा गर्न अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई सुझाएका छन् ।
निर्वाचन मिति घोषणा नभएकोप्रति एमाओवादीलगायत केही दलहरूले सरकारको आलोचना गरिरहेका बेला राष्ट्रपतिले समेत अध्यक्ष रेग्मीलाई शनिबार भएको भेटमा तत्काल तिथि तोक्न भनेका हुन् ।
रेग्मीले मिति घोषणा गर्नुअघि औपचारिक र अनौपचारिक तहमा संविधानसभा निर्वाचनसम्बन्धी कानुनमा निर्वाचन आयोगले गरेको नयाँ व्यवस्थामा दलहरूलाई सहमत गराउन प्रयास भइरहे पनि सम्भव नभएकाले मिति घोषणासमेत प्रभावित भएको राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
राष्ट्रपति यादवले निर्वाचनको पूर्वतयारी चाँडै सम्पन्न गरी तत्काल चुनाव मिति घोषणा गर्न गरेको आग्रहमा रेग्मीले असन्तुष्ट दलहरूका कारण ढिलाइ भएको जवाफ दिएका थिए ।
आयोगले गरेको ऐन संशोधन मस्यौदामा सहमति नजुटेमा ०६४ सालकै प्रावधान यथावत् राखेर भए पनि अध्यादेश ल्याउने तयारी सरकारले गरिरहेको जानकारी गराउूदै रेग्मीले त्यसलगत्तै मिति घोषणा हुने बताए । ०६४ को संविधानसभा निर्वाचन ऐनमा समानुपातिक सिट जित्न एक प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था नरहेकाले एमाओवादीलगायत साना दलले आयोगको संशोधन प्रस्तावप्रति विरोध जनाउँदै आएका छन् ।
प्रस्तावित मस्यौदाप्रति कांग्रेस- एमाले भने सहमत छन् । आयोगद्वारा प्रस्तावित मस्यौदाको उम्मेदवारी मनोनयनकै बेला उम्मेदवारले आफ्नाविरुद्धका फौजदारी अभियोग र सम्पत्ति विवरण स्वघोषणा गर्नुपर्ने व्यवस्थामा समेत कांग्रेस र एमाले तथा एमाओवादीबीच सहमति जुट्न सकेको छैन । राष्ट्रपति यादवले अध्यादेशमा प्रस्तावित नयाँ व्यवस्थाप्रति सहमति नभएमा पुरानै प्रावधान राखेर भए पनि निर्वाचनको मिति चाँडै घोषणा गर्न आग्रह गरेका थिए ।
‘संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति नजुटे ०६४ कै व्यवस्थालाई कायम राखेर भए पनि निर्वाचन मिति घोषणा गर्ने तयारीमा जानुपर्ने आग्रह राष्ट्रपतिको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘राष्ट्रपति जसरी पनि निर्वाचनमा जानुपर्छ भन्नेमा हुनुहुन्छ ।’
भेटमा मन्त्रिपरिषद्का अध्यक्षले निर्वाचनको तयारी, दलहरूसूगको वार्ता र संविधानसभा निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा राष्ट्रपतिलाई जानकारी गराएको उल्लेख गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘राष्ट्रपतिले पूर्वतयारीका काम चाँडै सकेर छिटो चुनावको मिति घोषणा गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।’
रेग्मीले राष्ट्रपतिलाई नेकपा- माओवादीसहित असन्तुष्ट दलहरूसूग वार्ता गरेर निर्वाचन प्रक्रियामा सामेल गराउने भूमिका निर्वाह गरिदिन आग्रहसमेत गरेका थिए । जवाफमा राष्ट्रपतिले नेकपा- माओवादीलगायत असन्तुष्ट दलहरूसूग वार्ता गरी उनीहरूलाई निर्वाचन प्रक्रियामा सामेल गराउने प्रयास आफूबाट विभिन्न तहमा भइरहेको र त्यसलाई निरन्तरता दिने जानकारी गराएका थिए ।
रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले एक घन्टा लामो भेटवार्तामा निर्वाचन तयारी, प्रगति, पहल र प्रयासबारे छलफल भएको बताए । अध्यक्ष रेग्मीले सरकारका तर्फबाट निर्वाचन प्रक्रियामा फरक मत राख्ने दलहरूसूग अनौपचारिक र औपचारिक तहमा संवाद भइरहेको र राष्ट्रपतिलाई समेत आफ्नोतर्फबाट भूमिका खेलिदिन अनुरोध भएको बताए ।
‘राष्ट्रपति र स्वयं चार दलका माध्यमबाट असन्तुष्ट पक्षलाई सहमतिमा ल्याई निर्वाचन सुनिश्चित गराउने पहल र भूमिका निर्वाह गरिदिन अनुरोध गर्नुभयो,’ गौतमले भने, ‘जवाफमा राष्ट्रपतिले म आफैंले प्रयास गरिरहेको छु, त्यसलाई निष्कर्षमा पुर्याउन निरन्तरता दिन्छु भनेर आश्वासन दिनुभएको छ ।’