दलहरुले जे जस्तो प्रचारबाजी बाहिर गरे पनि भित्र भने के गर्छन् कसलाई के पत्तो ? यस्तै भएको छ । दलहरुले बाहिर-बाहिर तत्काल चुनावको मिति घोषणा गर्नुपर्ने माग गरिरहे पनि चार राजनीतिक दलको उच्चस्तरीय समितिमा भने तत्काल मिति तत्काल घोषणा नगर्न नेताहरुले आन्तरिक सहमति गरेका छन् ।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको अध्यक्षतामा आइतवार साँझ बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा दलहरुवीच मिति घोषणाका लागि हतार नगर्ने सहमति भएको स्रोतको दाबी छ ।
एकीकृत नेकपा माओवादीले तत्काल चुनावको मिति घोषणा हुनुपर्ने माग गरेको भए पनि आइतवारको वैठकमा मिति घोषणामा हतार नगर्ने प्रस्तावमा उसले समेत सहमति जनाएको छ ।
किन भयो यस्तो सहमति ?
बैठकमा दलहरुले तीनवटा कारण पेश गर्दै ती बिषयलाई सम्बोधन गरेर मात्रै चुनावको मिति घोषणा गर्नुपर्ने तर्क गरेको स्रोतको दाबी छ । । पहिलो कारणः चुनाव बहिस्कार गर्ने भन्दै आन्दोलनमा उत्रिएका मोहन बैद्य र उपेन्द्र यादवलगायतका समूहसँगको वार्तालाई निष्र्कषमा नपुर्याई चुनाव घोषणा गर्न नहुने दलहरुको निश्कर्ष छ । उनीहरुले चुनावमा भाग लिने भए त्यहीअनुसार र नलिने भए त्यहीअनुसार रणनीति बनाउनुपर्ने भएकाले ती समूहसँगको वार्ता निष्र्कषमा पुगेपछिमात्रै चुनावको मिति घोषणा गर्न एमाओवादीसमेत सहमत भएको हो ।
चुनावको तिथि तोक्न हतार नगर्नुको दोस्रो कारण मतदाता नामावली र नागरिकताका वितरण गरी गाउँसम्म चुनावको माहौल नबन्ने दलहरुको निष्कर्ष छ । त्यसैले यी दुईवटा काम सकेपछिमात्रै चुनावको मिति घोषणा गर्नुपर्ने चार दलका नेताहरुले सहमति गरेको बुझिएको छ ।
त्यसैगरी चुनावको मिति छिटो घोषणा नगर्नुको तेस्रो कारणः दलहरुले मंसिरमा हुने चुनावका लागि पर्याप्त समय हुनु पनि हो । कात्तिक वा मंसिरमा गर्ने भनिएको चुनावका लागि अझै ७-८ महिना समय बाँकी रहेको र सामान्यतया ६ महिना अगाडि चुनावको मिति घोषणा गर्ने अन्तराष्ट्रिय चलन नरहेको भन्दै दलहरुले मिति घोषणालाई अझै एक-डेढ महिना पर धकेल्ने योजना बनाएको बुझिएको छ ।