सामाजिक सुरक्षा भत्ताको ८ करोड बेरूजु/अनुगमन गर्न गठित जिल्लास्तरीय टोलीसमेत निष्क्रिय

– कृष्ण ज्ञवाली
जिल्ला विकास समिति ललितपुरले गतवर्ष बाँडेको सामाजिक सुरक्षा भत्ताको सवा ९ करोडमध्ये ८ करोड ११ लाख रुपैयाँको हिसाब किताब फछ्र्यौट गरेको छैन ।
४१ गाविस एवं उपमहानगरपालिकाले भत्ताको भर्पाई र अन्य प्रमाण पेस गर्न नसकेका हुन् । फछ्र्यौटको बिल भर्पाई नदेखिँदा ठूलो रकम हिनामिनाको आशंका गरिएको छ । अधिकांश गाविसले तोकिएको समयमा भर्पाई पेस नगरेको जवाफ दिएको जिविसले आगामी वर्ष बेरूजु शून्य बनाउने अभियान नै चलाउने जवाफ पठाएर टारेको महालेखाका एक अधिकारीले बताए । गतवर्ष ललितपुरमा सामाजिक सुरक्षा भत्ता शीर्षकमा ९ करोड २७ लाख रुपैयाँ खर्च भएको थियो ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधिमा आर्थिक वर्ष सकिएको एक महिनाभित्र भत्ता बुझाएको भर्पाई जिविसमा पेस गर्नुपर्ने नियम छ । सबै गाविस र ललितपुर उपमहानगरपालिकाले उक्त नियम पालना गरेका छैनन् । नायब महालेखापरीक्षक ईश्वर नेपालले आर्थिक वर्ष सकिएको छ महिनापछि जाँदा पनि लेखापरीक्षणका क्रममा सामाजिक सुरक्षा भत्ता वितरणको भर्पाई पाउन नसकिएको बताए । ‘भर्पाई नभएकै कारण हामीले बाध्य भएर प्रतिवेदनमा औंल्याएका हौं,’ उनले भने । गत माघको अन्त्यतिर लेखापरीक्षण भएको थियो । ललितपुर उपमहानगरपालिकाले भत्ता वितरणपछि जिविसमा भर्पाई पेस गर्न नसक्दा ३ करोड ५२ लाख रुपैयाँ बेरूजु छ । वडास्तरमा भत्ता वितरण गर्ने सचिवहरूले गत माघ मसान्तसम्म भर्पाई पेस गर्न सकेका थिएनन् ।
गत वर्षदेखि ललितपुरका नगरक्षेत्रमा बैंकमार्फत भत्ता वितरण गर्न थालिएको हो । ललितपुरको नगर वरपरका ठूला गाविसमा सामाजिक सुरक्षा भत्ताको लाखौंको बेरूजु छ । चापागाउँ गाविसले ३६ लाख रुपैयाँको फाँटवारी जिविसमा पेस गर्न सकेको छैन । लेले गाविसको बेरूजु ३० लाख ३२ हजार रुपैयाँ पुगेको छ । यो गाविसको झन्डै वाषिर्क बजेटको हाराहारीको रकम हो । लुभुको २६ र ठेचोको २३ लाख बेरूजु छ । १५ लाखभन्दा बढी बेरूजु हुनेमा इमाडोल, बुङमती, लामाटार, ठैव, हरिसिद्धि र सिद्धिपुर गाविस छन् । १० लाखभन्दा बढी हुनेमा धापाखेल, खोकना, सुनाकोठी सैंबु, टीकाथली, विशंखुनारायण, गोदावरी, गोदामचौर छन् ।
कुनै पनि गाविसले पूर्णरूपमा सामाजिक सुरक्षा भत्ता वितरणको भर्पाई र अन्य कागजात पेस गरेर पेस्की फछ्र्यौट गरेका छैनन् । दुई वर्षअघि गाविस र नगरपालिकाहरूको गरी कुल २ करोड ८१ लाख बेरूजु कायम रहेको काठमाडौं जिविसले यसपालि सामाजिक सुरक्षा भत्ताको बेरूजु ६४ लाख ३२ हजार रुपैयाँमा सीमित गरेको छ । काठमाडौंका छवटा गाविसमा मात्रै सामाजिक सुरक्षा भत्ताको बेरूजु छ । मनमैजु गाविसको १६ लाख २६ हजार र बूढानीलकण्ठको १४ लाख ९३ हजार रुपैयाँ फछ्र्यौट हुन बाँकी छ । सात लाखभन्दा बढी बेरूजु हुनेमा सुन्टोल, छैमले इन्द्रायणी र नाङ्लेभारे छन् ।
सामाजिक सुरक्षा भत्ता वितरण निर्देशिकाअनुसार, जिविसहरूले तोकिएको ढाँचा र मापदण्डको पनि पालना गरेका छैनन् । मापदण्डअनुसार, हरेक वर्षको पहिलो किस्ता असोज १, दोस्रो किस्ता माघ १२ र तेस्रो किस्ता जेठ १५ गतेभित्र वितरण गर्नुपर्छ । निकासामा समस्याका कारण जेठ १५ गतेभित्र वितरण गर्नुपर्ने रकम जिविसहरूले ढिलो गरी वितरण गरेका छन् । भत्ता वितरण गर्दा गाविस सचिवसहित दल र वृद्धवृद्धाको प्रतिनिधित्व हुनेगरी अनुगमन नभएको प्रतिवेदनमा छ । अधिकार पाएका गाविस र नगरका वडा सचिवको साटो अधिकांश सहायक कर्मचारीले भत्ता वितरण गर्छन् ।
वितरणको अनुगमन गर्न गठित जिल्लास्तरीय टोलीसमेत निष्क्रिय भेटिएको छ । भत्ता पाउनेको नामावली र अद्यावधिक विवरण पनि नभेटिएको प्रतिवेदनले औंल्याएको छ । ‘जिम्मेवार पदाधिकारीको उदासीनता र तत्परताको अभावले विवरण अद्यावधिक भएको पाइएन,’ लेखापरीक्षण प्रतिवेदनले औंल्याएको छ, ‘निर्देशिकाअनुसार वितरण तयार गरी भिडाएर अनुगमन गर्नुपर्ने देखिन्छ ।’