नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अघिल्लो चुनावमा डर धम्कीको सामना गर्न नसक्नु नै चुनाव हार्नुको कारण भएको खुलासा गरेका छन् ।
अब हुने चुनावमा सबै कुरा सामना गर्न आफूहरु तयार रहेको उनले बताएका हुन् । सर्लाहीको घुर्कौलीमा बुधबार बिहान भएको पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
नेता नेपालले उक्त भेटमा अहिले नै संविधानसभाको मिति घोष्णा गर्ने बेला भइनसकेको पनि बताए । उनले विगतको सरकारले निर्वाचनलाई प्रभाव पार्ने गरी गरेको नियुक्ति र सरुवाहरु फेरबदल भएपछि मात्र मिति तोकिनुपर्ने बताएका हुन् ।
सोही अवसरमा नेपालले अब हुने संविधानसभाको चुनावमा बहुमत ल्याएर जनताको पक्षमा संविधान बनाउने दाबी समेत गरे ।
केही दिन अगाडि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा एमाले समाप्त भइसकेको भन्ने भनाईबाट आक्रोसित नेपालले दाहालको मानसिक अवस्था ठिक नभएकाले उपचारका लागि राँची लैजानुपर्ने सुझाव दिएका छन् ।
दाहालको नाम उल्लेख नगरी उनले भने -“एमाले कहाँ छ भन्ने सम्मका मानसिक रोगका शिकार नेता यहाँ छन् र तीनलाई तुरुन्त राँचीमा भर्ना गर्नुपर्छ ।”
चेतना सन्देश नेपालले लोकतन्त्र दिवसको अवसर पारेर घुर्कौलीमा संचालन गरेको बालगृहमा अभिभावक गुमाएका रौतहटका १८ महिने एक बालक जिम्मा लगाउन नेपाल आएका थिए ।