एमाओवादी अध्यक्ष प्रचण्ड तीनदिने भारत भ्रमणका लागि आज दिल्ली जाँदै

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल शनिबार तीनदिने भारत भ्रमणमा जाँदैछन् । चीनबाट फर्केको एक सातापछि नयाँदिल्ली जान लागेका उनीसँग पत्नी सीता, नेता कृष्णबहादुर महरा र दुई सहयोगी छन् ।
पार्टी प्रशिक्षणमा उनले शुक्रबार समृद्ध नेपालले मात्र चीन र भारत दुवैको सुरक्षा चासो सम्बोधन गर्न सक्ने भएकाले आफूले त्रिदेशीय साझेदारीको कुरा अघि सारेको बताए । ‘जबसम्म नेपालको विकास हुँदैन, तबसम्म चीन र भारतको सुरक्षा चासोलाई सम्बोधन गर्न सकिँदैन,’ उनले भने, ‘चीन भ्रमणका क्रममा मैले त्यहाँको उच्च नेतृत्वसँग प्रस्ट ढंगले यो कुरा राखेको छु, भारत गएर पनि यही कुरा राख्छु ।’
भ्रमणमा उनले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगायत उच्च अधिकारीसँग भेट्ने छन् ।