बुटवल,बैशाख १४
बुटवल-नेपालगञ्ज रोडको विवादित जग्गामा बनेका १५ वटा घर टहरा नचिनेका मान्छेको समुहले शुक्रवार राती स्काभेटर प्रयोग गरी भत्काईदिएको छ ।
बुटवलको वडा नं ८ पुरानो बसपार्क तिनाउ रोडमा रहेका ९ वटा घर मध्यरातमा डोजर लगाएर एक समूहले भत्काइदिएपछि बुटवल तनावग्रस्त छ । घर भत्काउन प्रयोग गरिएका तीनवटा स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो घर टहरा भत्काएपछि पीडित परिवारले क्षतिपूर्ति र दोषीमाथि कारवाहीको माग गर्दै शनिवार बिहान नेपालगञ्ज बुटवल सडक खण्ड बन्द गरेका छन् । पसलसहितका घरहरु भत्काइदा करिब एक करोड रुपैयांको क्षति भएको अनुमान गरिएको छ ।
भूमाफियाको समूहले घर भत्काएको अनुमान गरिएको छ । धर्म पुरीको तीन तले, श्रीधरप्रसाद श्रेष्ठको २ तले तथा जानकी क्षत्री, गणेश शाही, मंगलमाया खड्गी, शान्तिमाया विक, तुलसी राना, मनमाया पुन र रामबहादुर गुरुङका एक तले घर भत्काइदिएको हो । घर टहरा रहेको जग्गाको स्वामित्वलाई लिएर स्थानीय थानेश्वर पौडेल र घर टहराधनीहरु बीच विवाद चल्दै आईरहेको छ ।
घरटहराधनीले जग्गामा आफूहरु धेरै वर्ष अघिदेखि बस्दै आएकाले जग्गा आफूहरुको नै रहेको दावी गर्दै आएका छन् । तर जग्गाको लालपूर्जा थानेश्वर पौडेलको नाममा छ । मध्यरातमा ठूलो सङ्ख्यामा हतियारसहित आएको नकावधारी समूहले तीन वटा डोजर लगाएर प्रहरीकै सामुन्ने घरहरु भत्काइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।