राष्ट्रपति र सभामुख आफ्नो पार्टीले गुमाउँदा संविधासभा जोगाउन नसकिएको पू-प्रधानमन्त्री भट्टराईको भनाइ :’१० वर्ष शासन गर्न दिए प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने दावी

पूर्वप्रधानमन्त्री एवं एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म आफ्नो पार्टीलाई शासन गर्ने अभिमत दिन आग्रह गरेका छन् ।
मजदुर दिवसका अवसरमा बुधबार सुनसरीको इटहरीमा भएको जनसभामा भट्टराईले एमाओवादीले १० वर्षसम्म शासन चलाउने अभिमत पाए प्रतिव्यक्ति आय तीन हजार डलर पुर्‍याउने आश्वासन दिए । उनले एमाओवादीसँगमात्र मुलुक चलाउने नेतृत्व र नीति रहेको उल्लेख गरे ।
भट्टराईले राष्ट्रपति र सभामुख गुमाउँदा संविधासभा जोगाउन नसकिएको बताए । ‘राष्ट्रपति, संविधानसभाका अध्यक्ष आवश्यक छ भन्ने बुझ्न सकिएन, त्यो नेतृत्व गुम्यो,’ उनले भने, ‘त्यहाँ पडक नहुँदा परिवर्तनका मुद्दामा एक्ल्याउँदै लैजाने रणनीतिमा उनीहरु सफल भए ।’
भट्टराईले पुरातन शक्ति एकातिर र परिवर्तनकारी बाँकी अर्कोतिर हुँदा संविधानसभा विघटन भएको बताए । ‘पुराना शक्तिहरुले राजतन्त्रको ठाउँ लिने कोसिस गरे, एकात्मक प्रणाली अपनाउने धृष्टता गरे,’ उनले भने, ‘हामीले त्यसलाई स्वकार्न सकेनौं ।’
आगामी चुनावमा कांग्रेसको नेतृत्वमा यथास्थितिवादी र एमाओवादी नेतृत्वमा परिवर्तनकार्मी शक्तिहरु ध्रुविकृत हुने उनले बताए । ‘अब भेडा, भेडासँग बाख्रा बाख्रासँग हुने अवस्था आएको छ,’ उनले भने ।