अमेरिकी राष्ट्रपति ओबामाद्धारा सिरियामा तत्काल अमेरिकी फौज पठाउनेसम्बन्धी प्रस्ताव अस्वीकार

वासिङटन । अमेरिकी राष्ट्रपति बाराक ओबामाले सिरियामा तत्काल अमेरिकी फौज पठाउनेसम्बन्धी प्रस्ताव अस्वीकार गरे । उनले अमेरिकी सैन्य दस्ता पठाउने कुनै त्यस्तो वातावरण नदेखेको पनि बताए । सिरियाली सरकारले सर्वसाधारणविरुद्ध रसायनिक हतियार प्रयोग गरेको सम्बन्धि तथ्य पुष्टी भएपनि कहाँ, कस्ले, कसरी प्रयोग गरेको भन्ने प्रमाण जुट्नेवित्तिकै सिरियामा भैरहेको खेल नै परिवर्तन हुने धारणा उनले दोहोर्याए । 
कोष्टारिकामा पुगेका ओबामाले परिस्थिति परिवर्तन हुनसक्ने जनाउँ दिँदै भने, अमेरिका र सिरिया दुबैको हितका लागि सिरियन भूमिमा अमेरिकी बूट नपरोस् भन्ने चाहना मेरो हो । यसबारे आफ्ना अरबी मित्रहरुसँग आफूले कुरा गरिसकेको पनि ओबामाले बताए । यसअघि अमेरिकी रक्षामन्त्री चक हेगलले भने सिरियाली राष्ट्रपति बशार अल असादले सर्वसाधारणमाथि अत्याचार नरोके विपक्षी लडाकूलाई हतियार दिइनुपर्ने धारणा राखेका थिए । 
ओबामाको पछिल्लो धारणा सिरियाको एक गाउँमा सरकारी सेनाको आक्रमणमा ४० जना सर्वसाधारण मारिएलगत्तै आएको हो । उता, इजरायलले भने सिरियाविरुद्ध हवाई आक्रमण गरेको हुनसक्ने खबर आएको छ । त्यस्तो आक्रमण विहीवार या शुक्रवार गरिएको हुनसक्ने अनुमान गरिए पनि इजरायल सरकारका तर्फबाट पुष्टि भने भएको छैन ।
Agencies