उत्तर कोरियाले पूर्वी किनारामा राखेको दुई मुसुदन मिसाइल हटायो

काठमाडौं  । उत्तर कोरियाले पूर्वी किनारामा आफूले राखेको दुई मिसाइल हटाएको छ । एक अमेरिकी अधिकारीका अनुसार उत्तर कोरियाले पूर्वी क्षेत्रमा तैनाथ गरेको मध्यम दूरीसम्म मार हान्नसक्ने मुसुदन मिसाइल हटाएको हो । गएको महिना उत्तरले यी मिसाइल पूर्वी किनारामा तैनाथ गरेको थियो । यसैका कारण उत्तरसँग दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध अत्यन्त बिग्रेको थियो ।
यसको जवाफमा दक्षिण कोरिया र अमेरिकाले पनि आफ्नो सुरक्षाका लागि भन्दै उक्त क्षेत्रमा मिसाइल थुपार्नुका साथै बम वर्षक विमानहरुसमेत लगेको थियो । जसका कारण कोरिया प्रायद्वीपमा युद्धको स्थिति बनेको थियो । दक्षिण कोरिया, जापान र अमेरिकाको सुरक्षा संयन्त्रमाथि उत्तरले परमाणु आक्रमण गर्नसक्ने त्राससमेत बढेको थियो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका एक अधिकारीले उत्तरको यस कदमले त्यस क्षेत्रमा शान्ति र स्थिरता कायम गर्न सजिलो हुने टिप्पणी गरेका छन् ।
 यसै वर्षको फेब्रुअरीमा उत्तर कोरियाले तेस्रो परमाणु परीक्षण गरेपछि कोरिया प्रायद्वीपमा तनावको अवस्था सृजना भएको थियो । यसक्रममा राष्ट्रसंघीय प्रतिबन्ध थप कडा भयो भने दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास समेत गरेका थिए ।
 उत्तर कोरियाको परमाणु परीक्षणबाट उसको सहयोगी मानिएका रुस र चीनसमेत रुष्ट बनेका थिए ।
Agencies