लगातारको बन्दका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै

ताप्लेजुङ  । लगातारको बन्दका कारण पूर्वी नेपालको जनजीवन कष्टकर बन्दै गएको छ भने सर्वसाधारणको दैनिकी दिनानुदिन ठप्प बन्न थालेको छ । संघीय लिम्वुवान राज्य परिषदले आज चौथो दिन पनि बन्द जारी राखेको छ । 
धनकुटा, तेह्रथुम र पाँचथरको सिमावर्ती गाविस वुधबारेमा गत शुक्रबार मतदाता नामावली संकलन भइरहेको समयमा विरोध प्रदर्शन गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै बन्दको आह्वान गरिएको हो ।
ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, तेह्रथुम, धनकुटा, संखुवासभालगायत नौ जिल्लामा लामो तथा छोटो दुरीका गाडी चलेका छैनन् । शैक्षिक संस्था, पसल, कलकारखाना पनि ठप्प छन् । उनीहरुले बन्दको क्रममा विभिन्न स्थानबाट पक्राउ परेका सबै कार्यकर्ता रिहा गर्नुपर्ने, मतदाता नामावली संकलन तत्काल रोक्नुपर्ने जस्ता पाँच बुंदे माग राखेका छन् । हिजो मात्रै बन्दको क्रममा बिभिन्न जिल्लाबाट २२ जना पक्राउ परेका छन् ।
rss