काठमाडौ – लोकमानसिंह प्रकरणमा एमाओवादीमा पनि विभाजन देखा परेको छ । अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बाबुराम भट्टराई कार्कीको पक्षमा छन् भने अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ विपक्षमा देखिएका छन् ।
दाहाल र भट्टराई पहिलेदेखि नै कार्कीको पक्षमा खुलेरै लागेका थिए भने श्रेष्ठले ‘जनआन्दोलनका दोषी’ लाई अख्तियार जस्तो महत्त्वपूर्ण निकायमा नियुक्ति गर्न नहुने धारणा पार्टी भित्र र सार्वजनिक रूपमा राख्दै आएका छन् । श्रेष्ठले अध्यक्ष दाहाललाई पटक-पटक विवादास्पद व्यक्ति कार्कीलाई अख्तियारमा नियुक्ति गर्दा जनआन्दोलनको अपमान हुने मात्र होइन, भावी दिनमा पार्टीकै लागि ‘खतरा’ हुने सक्ने भन्दै सचेत गराएको स्रोतको भनाइ छ ।
दाहाल निवास लाजिम्पाटमा सोमबार पदाधिकारीको अनौपचारिक बैठकमा श्रेष्ठले कार्कीको नियुक्तिबारे पुनर्विचार गर्न दाहाललाई आग्रह गरेको स्रोतले जनाएको छ । ‘विवादास्पद व्यक्तिलाई अख्तियारमा नियुक्त गर्ने कुरा पुनर्विचार गनुपर्छ,’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘शक्तिका पुजारी कार्की हाम्रो पार्टीविरुद्ध नउत्रेलान भन्न सकिन्न ।’ श्रेष्ठको आग्रहलाई दाहालले खासै वास्ता नगरेको स्रोतको भनाइ छ ।
श्रेष्ठबाहेक अन्य नेताहरूले कार्कीविरुद्ध मुख खोलेका छ्रैनन् । यसअघि ‘जनयुद्ध’ र जनआन्दोलनको उपलब्धि रक्षाको चर्को कुरा गर्ने एमाओवादीका नेताहरू कार्की नियुक्ति प्रक्रियामा भने कि मौन छन्, कि समर्थनमा लागेका छन् । कार्की प्रकरणमा ‘बाह्य प्रभाव’ परेको श्रेष्ठ पक्षको दाबी छ ।
कार्की नियुक्ति प्रकरणबारे पार्टीमा औपचारिक निर्णय भएको छैन । श्रेष्ठले यसबारे औपचारिक निर्णय हुनुपर्ने माग गरेका छन् । ‘अख्तियारमा कार्की नियुक्तिबारे यति ठूलो विवाद भइसकेपछि पार्टीले औपचारिक निर्णय हुन आवश्यक छ’ श्रेष्ठको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । पछिल्लो समय पूर्वलडाकुको शिविरमा करोडौं रुयैयाँको आर्थिक अनियमितताको चर्चा भएपछि अख्तियारले छानबिन अघि बढाउनुपर्ने माग उठेको थियो । पूर्वलडाकु शिविरमा भएको अनियमिताबारे छानबिन भए सबभन्दा पहिले दाहाल तानिने भएपछि अख्तियारमा कार्कीलाई ल्याउँदा आफूलाई सहज हुने दाहालले ठानेको अनुमान छ ।
ekantipur