रुपन्देहीमा ६ वर्षीया एक बालिका बलात्कृत

भैरहवा – रुपन्देहीमा ६ वर्षीया एक बालिका बलात्कृत भएकी छिन्। जिल्लाको मानपकडी गाविस-३ की ६ वर्षीया एक बालिकालाई गते वैशाख १० गते स्थानीय मनोज चौधरीले बलात्कार गरी फरार भएको रुपन्देही प्रहरीले जनाएको छ।

 

पीडक चौधरी र उनको परिवारले दिएको धम्की तथा दबाबका कारण घटना गाँउमै मिलाउने प्रयास गरिएपनि स्थानीय जनज्योती महिला विकास बचत तथा ऋण समूहको सहयोगमा बालिकाकी आमाले आइतबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता गराएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडी बढाएको छ।


आर्थिक अवस्था कमजोर भएका कारण अर्कैको घरमा बसेका पीडित परिवारलाई पीडक र स्थानीय केही व्यक्तिले घटना बाहिर ल्याए बास खोसीदिने धम्की दिएपछि घटनाका सम्बन्धमा कसैलाई भन्न नसकेको बालिकाकी आमालाई उद्धृत गर्दै महिला विकास कार्यालयकी परिचालिका स्थानीय बिन्दु लक्ष्मी सुवेदीले बताइन्।

संस्थाको सहयोगमा गत बिहीबार नै बालिकाकी आमाले इलाका प्रहरी कार्यालय छपियामा ठाडो उजुरी दर्ता गराएकी थिइन्। इप्रकामा ठाडो उजुरी परेको पाँच दिन पछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार जवरजस्ती करणीको मुद्दा दर्ता गराएको हो। प्रहरी समक्ष ढिलो गरी आएको र प्रक्रिया पुरा गर्दा मुद्दा दर्ता गर्न ढिलाई भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चिन्तामणी बुढाथोकीले बताए।


अभियुक्त चौधरी फरार रहेका र उनका परिवार समेत हाल घर छोडी भागेकाले उनीहरुको खोजी कार्य जारी रहेको बुढाथोकीले बताए। गत वैशाख १० गते अपरान्ह चार बजे खेतमा काम गर्दै गरेका आफना बाबुलाई गम्छा दिएर घर फकर्दै गर्दा चौधरीले बालिकालाई जवरजस्ती काखमा उठाएर कुलाको डिलमा बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
घरदेखि करिव ३ सय मिटर टाढा रहेको कुलोमा बालिकालाई रगताम्मे अवस्थामा फेला पारेको बालिकाकी आमाले प्रहरी समक्ष बताएकी थिइन्। आइतबार भिम अस्पताल भैरहवामा बालिकाको स्वास्थ्य परीक्षण गरिएको थियो।

 

स्वास्थ्य रिर्पोटमा बलात्कार भएको उल्लेख गरिएको प्रहरी निरीक्षक बुढाथोकीले बताए। हाल बालिकाको अवस्था सामान्य भएको बताइए पनि पिसाब गर्दा दुख्यो भनेर रुने कराउने गरेको उनकी आमालाइ उद्धृत गर्दै महिला विकास कार्यालय रुपन्देहीकी प्रमुख उषा रावलले बताइन्। पीडितका आफन्त तथा स्थानीय महिला अधिकारकर्मीहरुले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्।

 

– नागरिक