आगामी संविधानसभा निर्वाचनका निम्ति विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलहरु दर्ता

काठमाडौ   – निर्वाचन आयोगले आह्वान गरेअनुसार बिहीबार सम्ममा २७ दल दर्ता भएको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाले जनाएको छ । आगामी संविधानसभा निर्वाचनका निम्ति विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरु दर्ता भएका हुन् । आयोगले नयाँ दल दर्ताका निम्ति दसहजार हस्ताक्षर जुटाउन कडाइ गरेपछि आम समर्थन नभएका नयाँ दलहरु उत्साहि देखिएका छैनन् ।


दर्ता भएका दलहरुमा एमाले, एमाओवादी, राप्रपा नेपाल, कांग्रेस, नेकपा (माले), तराई-मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक), संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी जनता पार्टी, मधेशी जनअधिकार फोरम, राष्ट्रिय जनमोर्चा, नेकपा-संयुक्त), राष्ट्रिय जनशक्ति पार्टी, नेपाली जनता दल, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरे भावर राष्ट्रिय एकता पार्टी, नेपाल सदभावना पार्टी -आनन्दीदेवी), नव नेपाल निर्माण पार्टी, दलित जनजाती पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल र मधेशी जनअधिकार फोरम-गणतान्त्रिक) छन् । बिहीबार एउटामात्र दल दर्ता हुन आएको आयोगले जनायो ।


वैशाख १७ गतेबाट सुरु दल दर्ता प्रक्रिया आगामी जेठ १५ सम्म चल्ने छ । २०६४ सालको संविधान सभामा मान्यताप्राप्त दलहरु दर्ता भइरहेका छन् । आयोगमा अहिलेसम्म १ सय १९ वटा दल दर्ता छन् । निर्वाचनका निम्ति पुनः दर्ता हुनु पर्ने प्रावधान छ । यसअघिको संविधानसभामा दर्ताप्राप्तबाहेक नयाू खुलेका दलले चुनावमा भाग लिन १० हजारको हस्ताक्षरसहित आवेदन दिनुपर्ने छ ।


नयाँ दर्ताका निम्ति आयोगमा सोधपुछ गर्न दलका प्रतिनिधि आएपनि अहिलेसम्म कुनैले प्रक्रिया पूरा गरेका छैनन् । ‘दसहजार हस्ताक्षर संकलन गर्न अलि अप्ठ्यारो छ,’ निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भने, ‘विभिन्न समस्या छन् । दलहरुले चुनावका निम्ति सकारात्मक माहौलमा जुट्ने विश्वास लिएका छौं ।’


आयोगले दल दर्ताका फारामसूगै हस्ताक्षर संकलनका निम्ति अहिलेसम्म संकलित फोटोसहितको मतदाता नामावलीको फोटोकपी दिनुपर्ने प्रावधान राखेको छ । दर्ता हुन चाहने दलले तिनै नामावलीबाट हस्ताक्षर गराउनु पर्नेछ । दलहरुले मतदाताको नाम,थर, हस्ताक्षरसूगै नागरिकता नम्बर, फोटोसहितको मतदाता नामावली दर्ता नम्बरसमेत उल्लेख गर्नुपर्ने हुन्छ ।


‘नाम, थरमात्र उल्लेख भएर हुन्न हस्ताक्षर, नागरिकता, मतदाता नामावली दर्ता नम्बर उल्लेख हुनुपर्छ,’ आयोगका सहसचिव बीरबहादुर राईले भने, ‘कुनै एक दलले हस्ताक्षरण गराएको व्यक्ति अर्को दलले पनि हस्ताक्षर गराएको हुनुभएन ।’ आयोगले ती मतदाताको नाम, थर, फोटो, हस्ताक्षर, औंठा छापसमेत डिजिटल प्रविधिमा राखेको छ । उसले सफ्टवेरका माध्यममा राखिएका ती विवरण देशको जुनसुकै जिल्लाबाट दाूजेर हेर्न सकिनेछ ।


संघीय समाजवादी पार्टी, नेपालका उपाध्यक्ष गोपाल ठाकुरले आयोगले गरेको नयाू प्रावधानको अर्थ नरहेको बताए् । ‘दसहजार हस्ताक्षरको प्रावधानले कुनै अर्थ राख्दैन,’ उनले दाबी गरे, ‘दलको भाग्य हस्ताक्षरले फैसला गर्दैन । निर्वाचनमा भाग लिएपछि जनताको भोटले मात्र आधिकारिकता दिन्छ । तैपनि खुला मैदान छाडैनौं आयोगले भनेजस्तै हस्ताक्षर बुझाउन तत्पर छौं ।’


आयोगले अहिलेसम्म १ करोड ११ लाखभन्दा बढीको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । सरकारले देशव्यापी एकीकृत घुम्ती सेवा सुचारु राखेको छ । घुम्ती टोलीमा गृहमन्त्रालय, निर्वाचन आयोगलगायत कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास, पशु सेवा, जिल्ला विकास समितिले आ-आफ्नो सेवा पुर्‍याएका छन् ।

 

ekantipur