आगामी निर्वाचनपछि बन्ने संसदले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाउने लगायतका विकल्पबारे छलफल

काठमाडौं । नेकपा एमालेले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की विरुद्ध नागरिक समाज र विद्यार्थीहरुले गरिरहेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । त्यसैगरी आगामी निर्वाचनपछि बन्ने संसदले कार्कीलाई महाअभियोग लगाएर हटाउने लगायतका विकल्पबारे पनि दलहरुसँग छलफल गर्ने पनि एमालेले बताएको छ ।

पार्टी मूख्यालय बल्खुमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा अख्तियारमा कार्कीको नियुक्ति र हटाउने विकल्पहरुबारे छलफल भएको एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले हामीलाई जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा लेखा आयोगको प्रतिवेदनमाथि छलफल सम्पन्न भएको छ । आयोगका अध्यक्ष पुष्प कँडेलले पार्टीको लेवीमा अनियमितता भएको, खर्चमा मितव्ययिता र कटौती गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, केन्द्रीय अनुशासन आयोग, सल्लाहकार परिषद्, स्थानीय विकास तथा भौतिक योजना विभागको प्रतिवेदनमाथि बैठकमा छलफल जारी छ ।
 
RSS