चुनावको मिती लगायतका विषयमा छलफल गर्न अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीद्धारा दलहरुसंगको वार्तालाई निरन्तरता

काठमाडौं । संविधानसभाको आकार, विचाराधिन अवस्थामा रहेको अध्यादेश र चुनावको मिती लगायतका विषयमा छलफल गर्न आज पनि अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले दलहरुसंगको वार्तालाई निरन्तरता दिएका छन् । रेग्मीले आज नेकपा माओवादीसंग भेटवार्ता गर्दै छन् । यसअघि रेग्मीले निर्वाचन आयोगका पदाधिकारी र नेकपा एमाले नेतृत्वसंग छुट्टाछु्ट्टै छलफल गरे ।


अध्यक्षसंगको छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले पहिले निर्वाचन कानुन जारी भए मात्र चुनावका लागि बांकी तयारी गर्न सकिने भन्दै निर्वाचन कानुन ल्याउन माग गरे ।

 

निर्वाचन सम्बन्धी ऐनलाई अन्तिम रुप दिने उद्देश्यले अध्यक्ष रेग्मीले दलहरुसँग छलफल थलेकोमा हिजै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेका शीर्ष नेताहरुसंग परामर्श भयो

 

अध्यक्ष रेग्मी र एमाले नेताहरुबीच चुनावको मिति तय, समानुपातिकतर्फको सिट संख्या, थ्रेस होल्ड तथा प्रस्तावित निर्वाचन कानुनको मस्यौदामा देखिएका अन्यौललाई कसरी हटाउने भन्नेबारे छलफल भएको थियो ।

 

छलफलको क्रममा एमाले नेताहरुले चुनावमा मान्यता पाउन एक प्रतिशत मतको सीमा राख्नैपर्ने, फौजदारी अभियोग लागेकालाई उम्मेदवार बनाउन नहुने र असन्तुष्ट दलहरुलाई पनि चुनावमा सहभागी हुने वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए ।

 

RSS