चक्रवाती तूफानका कारण बंगलादेश, बर्मामा लाखौं बासिन्दा घर छाडेर धमाधम अन्यत्र पलायन, ठूलो हावाहूरीको चेतावनी


बर्मा । बंगालको खाडीबाट उठेको महासेन चक्रवाती तूफानले बंगलादेश, बर्मा र भारतमा असर पार्ने भन्दै समुन्द्र तटमा बस्ने लाखौं बासिन्दालाई धमाधम अन्यत्र सारिएको छ । बंगलादेश र बर्माका समुन्द्र तटको गहिरो भागमा बसोबास गर्ने १० लाखभन्दा बढी व्यक्ति आफ्ना घर छाडेर अन्यत्र सुरक्षित स्थलतर्फ गइरहेको खबर छ ।


यसअघि सरकारी अधिकारीहरुले जोखिम क्षेत्रमा बसिरहेकाहरुलाई सुरक्षित स्थलमा जान अपील गरेको थियो । बर्माको तटीय भागमा पनि सतर्कता अपनाइएको छ । बंगलादेशको चटगाउँ र कक्स बजारका बासिन्दा सुरक्षित स्थानतर्फ गइरहेका छन् । आँधी बंगालको खाडीबाट उत्तरपूर्वतर्फ बढिरहेको बताइएको छ । राष्ट्रसंघका अनुसार तीन देशका ८२ लाखभन्दा बढी बासिन्दा आँधीको खतरामा छन् ।


आँधीका कारण भारतको उत्तर पूर्वी राज्यहरु र नेपालमा समेत भारी बर्षा हुने अनुमान गरिएको छ । पाँच वर्ष अगाडि आएको नर्गिस नामक तूफानमा परी बर्मामा मात्र एक लाखभन्दा बढी व्यक्ति मारिएका थिए । भारतको असम, मणिपुर, त्रिपुरा, नागाल्याण्ड क्षेत्रमा ठूलो वर्षा हुने अुनमान छ भने आन्ध्रप्रदेश, उडीसा र पश्चिम बंगाल राज्यमा ठूलो हावाहूरीको चेतावनी दिइएको छ ।

Agencies