जनजाति नेता गोरेबहादुर खपाङ्गीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा रहेको छ । उनको सिंहदरबार दक्षिणस्थित अन्नपुर्ण न्युरो हस्पिटलको आईसीयु कक्षमा उपचार भइरहेको छ । खपाङ्गी गत वैशाख १२ गते राजधानीको भृकुटीमण्डमा अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवमा उद्घाटन समारोहमा सहभागी हुन जाँदा पुरानो बसपार्कमा मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनको मस्तिष्कमा रक्तश्राव भई जमेको रगत तत्कालै बरिष्ठ न्यूरो सर्जन डा. बसन्त पन्तको समूहले सफलतापूर्वक शल्यक्रिया गरेको थियो । उनको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेपनि हालसम्म अचेत छन् । खपाङ्गीको परिवारले उपचार खर्च धान्न नसक्ने भएपछि अधिवक्ता शंकर लिम्बूको संयोकत्वमा ‘गोरेबहादुर खपाङ्गी मगर उपचार सहयोग समिति’ गठन गरिएको छ ।
फोक्सोमा पानी जमेर निमोनियाले ग्रस्त स्थिति भएकोले प्रत्येक दिन ४० देखि ५० हजार रुपैयाँ खर्च भइरहेको समितिले जनाएको छ । चिकित्सकहरुको भनाई अनुसार पाँचदेखि छ महिनासम्म उपचार गर्नु पर्ने छ । ‘स्वदेश तथा विदेशका सम्पुर्ण शुभचिन्तक संघसंस्था, समुदाय तथा महानुभावहरुलाई यथासक्य आर्थिक सहयोग गरी गोरेबहादुर खपाङी मगरलाई बचाउन कार्यमा योगदान पुर्याइदिन हुन हार्दिक अपिल गर्दछ,’ समतिले भनेको छ ।
सहयोग समितिले खपाङ्गीको उपचारार्थ सहयोग रकम ललितपुरको जावलाखेलस्थिति नेपाल बैंक लिमिटेडमा खाता खोलेको छ । बैंकको बचत खाता नम्बर ०१९११००१४८३३२ रहेको र उक्त खाता क्याप्टेन कुलप्रसाद पुन मगर र क्याप्टेन यमबहादुर बुढाथोकी मगरको संयक्त नाममा सञ्चालन हुने जनाएको छ । खपाङ्गीको सहयोगका निम्ति नेपाल सरकारसित समेत अनुरोध गरेको इन्डिनियस फिल्म आर्काइभका महासचिव सन्जोल लाफामगरले जनाएका छन् ।
-गणेश राइ