काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सर्वोच्च अदालत कार्यपालिकाको छायाँमा परेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनलाई लक्षित गर्दै तयार गरेको गीतको सीआरबीटी सार्वजनिक गर्दै नेता कोइरालाले न्यायालयमा कार्यपालिकाको हस्तक्षेप सुरु भईसकेको बताए ।
उनले लोकमानसिंह कार्कीको मुद्धामा माथिको आदेश भनेर न्यायाधीशले नै भन्नु र उनका बारेमा परेको रीट सर्दै जानुले सर्वोच्चमा सरकारको हस्तक्षेप प्रष्ट भएको बताए ।
चार दलको सहमतिका नाममा बाधा अड्काउ फुकाउ जारी गरेको चैत्र १ गते नेपाली राजनीतिकै कालो दिन भएको नेता कोइरालाको टिप्पणी थियो । उनले निर्वाचनका लागि दलका नेताहरुमा गम्भीरता नदेखिएको भन्दै मंसिरमा निर्वाचन हुनेमा शंका व्यक्त गरे ।
स्ववियु निर्वाचनमा देखिने गुटमा पार्टीका नेताहरुले नै मलजल गरेको भन्दै सो नियन्त्रणका लागि विद्यार्थीहरु नै सक्रिय हुनुपर्ने उनको भनाई थियो ।
स्ववियु निर्वाचनले संविधानसभा चुनावलाई समेत प्रभावित गर्ने भन्दै उनले विद्यार्थीहरुलाई विभाजित नभई चुनावमा लाग्न निर्देशन दिए ।
रासस