बेलायतमा प्रधानमन्त्री क्यामरुनद्धारा लण्डन घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने उल्लेख

लण्डन । बेलायतको राजधानी लण्डनमा एक व्यक्तिको नृशंस हत्या गरिएको छ । दक्षिणपूर्वी लण्डनको वूलविच इलाकामा दुई जनाले एक व्यक्तिको छुरा प्रहार गरी मारेर शवलाइ नजिकैको सैन्य क्याम्पमा फालेको प्रत्यक्षदर्शीले जनाएका छन् । सुरक्षा निकायले मारिने ब्यक्ति सुरक्षाकर्मी भएको पुष्टि गरेको छ । 



प्रधानमन्त्री डेभिड क्यामरुनले घटनामा आतंकवादीको हात रहेको संकेत मिलेको भन्दै यस्ता घटनाबाट ब्रिटेन कहिल्यै नडराउने बताएका छन् । आतंकवाद निर्मूलन विभागले हत्याको जाँच सुरु गरेको लण्डन प्रहरीले जनाएको छ । 



हत्यामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रगतले लतपतिएको मासु काट्ने छुरा बोकेर इस्लामिक नारा लगाइरहेको अवस्थामा हत्यामा संलग्न व्यक्तिको भिडियो दृष्य पनि फेला परेको छ । 



हत्या गरेर दुई जना त्यहाँबाट भाग्ने कोशिश नगरी आफ्नो तस्वीर लिन भनिरहेका थिए । तत्काल घटनास्थलमा पुगेको प्रहरीले कारवाही गर्दा एकजनालाई गोली लागेको छ । 



घटनापछि ब्रिटेनमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रधानमन्त्री क्यामरुनले आफ्नो फ्रान्स भ्रमण नै छोट्याएर स्वदेश फर्किएका जनाइएको छ ।



Agencies