– बिनोद घिमिरे
संसार भर छरिएर रहेका प्रवाशी नेपालीहरुलाई गोलबद्ध गरि संगठित पुँजी मार्फत नेपाल र नेपालीको हितमा काम गर्ने उद्देश्यले सन् २००३ मा स्थापना भएको गैर आवाशीय नेपाली संघ (एनआरएन) झाङ्गिदै जाने क्रममा हाल बिश्वभरका साठी भन्दा बढी मुलुकमा आफना शाखा बिस्तार गरि सकेको छ। जसको फलस्वरूप सन् २००६ मा एनआरएन ए पोर्चुगलको स्थापना भएको हो। युरोपको अति कम आय भएको देशमा रहेर पनि आफनो क्षमता अनुसारका गतिविधिलाई एनआरएन ए पोर्चुगलले सशक्त ढंगले अघि सार्दै आएको छ। सन् २०१० मा एनआरएन युरोपियन भेलालाई हाल सम्मकै नमुना भेला को रुपमा सम्पन्न गर्न सफल रहयो। जसको एनआरएन वृतमा हाल सम्म पनि चर्चा गरिने गर्दछ।
संस्थापक अध्यक्ष पूर्ण हमाल, प्रथम अधिबेशनबाट निर्वाचित अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा हुदै हाल रमेश कुमार गुरुङले यसको नेतृत्व सम्हाली रहनु भएको छ। एनआरएन ए पोर्चुगलको चर्चा गर्दा पूर्ण हमाल र लक्ष्मी प्रसाद सापकोटा छुटाउने नहुने नाम हुन्। उनीहरुका अतिरिक्त यहाँ स्थित ब्यबशायीहरुको अविरल सहयोग को पनि उच्च मुल्यांकन गर्नु पर्ने हुन्छ। उनीहरुको योगदानको फलस्वरूप झोलामा कागजात बोकेर पार्कमा बैठक गर्ने संस्था हाल एक संगठित र शसक्त संगठनको रुपमा स्थापित भई सकेको छ। नेपालमा स-साना च्यारिटी सहयोग, त्रिभुवन बिमानस्थलमा ट्रली सहयोग, असामयिक निधन भएका नेपालीहरुको शव नेपाल पुर्याउने, नेपाल पुर्याउन नसकिएका को हकमा यहि ब्यबस्थापन गर्ने, बिरामी भई नेपाल फर्कन चाहने हरुको लागी राहत सहयोग, रोजगार मुलक तालिम, नव आगन्तुक को लागी भाषा कक्षा, स्थानिय नियम कानुनहरुको बारेमा सल्लाह र सुझाव दिने काम यस संगठनले गर्दै आएको सर्वविदितै छ। उपरोक्त कामहरुको अतिरिक्त यसले पोर्तो स्थित नेपाली कन्सुलेट मा कागजात प्रमाणीकरण गरिदिन सघाउने र पेरिश स्थित नेपाली दुतावास मा राहदानी, वारेशनामा, शिफारिश लगायतका कामहरुको लागी सहजकर्ता को भूमिका निर्वाह गर्दै आएको छ।
बर्तमान अध्यक्ष रमेश कुमार गुरुङ को नेतृत्वमा रहेको एनआरएन ए पोर्चुगलले दुई वटा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। लिस्वनमा नेपाल सरकारको कन्सुलेट स्थापना का लागी सर्वपक्षीय सहमति जुटाई स्थानिय बरिष्ठ व्यवशायी तथा समाजसेवी मकर हमाल लाई सरकारले अवैतनिक वाणिज्य दूत नियुक्त गरि सकेको र पोर्चुगल सरकारको आधिकारीक पत्रको प्राप्ति पश्चात लिस्वनमा कार्यालय स्थापन हुने क्रममा रहेको छ। यसैगरि एनआरएन साझा लगानीका लागी यहाँबाट दुई करोड पचास लाख रुपैया भन्दा बढी लगानी नेपाल भित्र्याउनु यसको अर्को महत्वपूर्ण उपलब्धि हो। पोर्चुगलमा नेपाल र नेपालीको पहिचान दिने नेपाल हाउसको स्थापना का लागी अध्यक्ष गुरुङ लागी परेका छन्। साथै उनले नेपालमा पोर्चुगलको बैतनिक कन्सुलेट स्थापना, परिवार मिलन भिषाको सहजीकरण, पर्यटन लगायतका बिषयमा ठोस उपलब्धि हासिल गर्न कम्मर कसेर लागेको देखिन्छ।
युरोपका अन्य एनआरएन ए भन्दा गतिशील र चर्चा कमाएको एनआरएन ए पोर्चुगलले पछिल्ला दिनहरुमा आयोजना गरेका कार्यक्रमहरुमा नेपालीको सक्रियता र उपस्थिति न्यून हुदै गएको आभाष हुन थालेको छ। यस प्रसंगको जवाफ अनुत्तरित छ। नेपालीहरुको संख्या बृद्धी संगै बढ्दै गएका राजनैतिक पार्टीका भात्री संगठन, जातिय, क्षेत्रीय संगठनका गतिबिधि तिब्र हुदै गर्दा एनआरएन अभियान कमजोर भएको हो कि भन्ने तर्क गर्नेहरु पनि छन्। राजनैतिक, जातिय, क्षेत्रीय संगठनहरुले आफना कार्यकर्ता र सदस्यहरु लाई धेर थोर सहयोग त् पुर्याएकै होलान तर समग्र नेपालीका साझा समस्या र नेपाल-नेपालीको पहिचान दिने साझा संगठन एनआरएन नै हो र हुनु पनि पर्दछ। नेपाल सरकारले समेत मान्यता दिने क्रममा रहेको र बिदेशमा पनि नाम कहलाउन सफल यस सस्थाको अवमुल्यन कसैबाट पनि हुनु हुदैन। नेपालमा थुप्रै परोपकारी काम र ठुला-ठुला परियोजना हरुमा लगानी गरिरहेको यस पवित्र संस्थाको तेजोबध गर्ने र कमजोर तुल्याउने दुस्साहस कतै बाट हुन्छ भने त्यस्ता गतिविधिलाई निस्तेज गरिनु पर्दछ। हामी नेपाली अरुका कुरा काट्न अभ्यस्त भईसकेका छौ । राम्रा कामको पनि खुलेर प्रसंशा गर्न हिच्किचाउछौ। कसैको आलोचना गर्नु अघि आत्म समिक्षा गर्नु जरुरी हुन्छ। यदि म कुनै पदमा आसिन भए मैले के गर्न सक्थे र पदमा भएकाहरुले के गरिरहेका छन्। एक पटक सोच्न जरुरी हुन्छ। फलानो ले यस्तो गर्यो, ढिस्कानो ले उस्तो गर्यो भन्न सजिलो छ तर नेपाली हरुको साझा संस्थाको विकास र बिनाश का लागी म पनि त जिम्मेवार छु भन्ने हेक्का हुनु पर्दछ। प्रदेश हो काम नगरी बाच्न सकिदैन त्यसैले पदको दावेदारी गर्दा एक पटक सोचौ म केवल नाम को लागी पद लिन चाहन्छु वा मैले पदिय जिम्मेवारी बहन गर्न सक्छु। एनआरएन को पद भनेको कुनै लाभ लिने पद हॊईन, त्यहा त सक्दो दिन जाने ठाउ हो। त्यसैले अब बेला भएको छ, सबै जुटौ कमि-कमजोरी को समिक्षा गरौ अनि सक्षम र गतिशील नेतृत्वको चयन गरौ।
मे १३ का दिन एनआरएन ए ले लिस्वनमा आयोजना गरेको `तेस्रो अधिबेशन र भावी नेतृत्व` बिषयक अन्तरक्रिया कार्यक्रममा पोर्चुगल स्थित विभिन्न संघ-सस्था का अध्यक्ष, प्रतिनिधि र सर्वसाधारण को विचार सुन्ने क्रममा कसैले वर्तमान नेतृत्वलाई कायण गरौ, कसैले समावेशी र समानुपातिक नेतृत्व चयन गरौ, कसैले हरेक संघ-संस्था लाई एक/एक पद दिऔ जस्ता अभिव्यक्ति सुन्ने मौका मिल्यो। समावेशी, समानुपातिक र एक पद एक संस्था भन्दा पनि सक्षम र समयानुकुल नेतृत्व आजको आवश्यकता हो। यसको अर्थ भावी कार्य समिति समावेशी र समानुपातिक हुनु हुदैन भन्ने चाहि बिल्कुल होईन। यस प्रसंगमा एनआरएन संस्थापक अध्यक्ष उपेन्द्र महतो ले हरेक जसो भेलाहरुमा भन्ने भनाई लाई उदृत गर्न चाहन्छु, उनले नेपाली का लागी योगदान गर्न सक्ने र नेपालमा कुनै परियोजना लग्न सक्ने व्यक्तिले मात्र एनआरएन को नेतृत्व दावी गर्नु पर्दछ भन्ने गर्दछन।
पोर्चुगलबासी नेपाली हरुका यावत समस्या हरुलाई चिर्दै देशको लागि पनि केहि गर्नु पर्दछ भन्ने सोच भएको अझ बढी सशक्त र उर्जाशील नेतृत्व होस् भन्ने चाहना सबैको रहेको छ। सहमतीय होस् या निर्वाचित जे सुकै भएपनि काम गर्न सक्ने, समय दिन सक्ने र आर्थिक पक्षले पनि सबल भएको व्यक्तिले मात्र एनआरएन ए पोर्चुगललाई सहि दिशा बाट हाक्न सक्ने कुरा निर्विवाद छ। व्यक्ति जुनसुकै वर्ग, समुदाय र विचार को होस् यदि उ संग नेतृत्व गर्ने चाहना र पदिय उत्तरदायित्व बहन गर्ने क्षमता छ भने सबैले स्विकार्ने वातावरण को सृजना गरिनु पर्दछ। त्यसैले धेरै भन्दा धेरै नेपालीहरुलाई संस्थाको छातामुनी आवद्ध गरि एक गतिशील र क्षमतावान नेतृत्वको चयन गर्न पोर्चुगलबासी नेपाली दाजुभाई दिदीबहिनी एकजुट हुन आवश्यक रहेको छ।
भावी कार्य समितिले ध्यान दिनु पर्ने केहि कामहरुलाई बुदागत रुपमा उल्लेख गर्न चाहन्छु:-
१. नेपालको प्रचार-प्रचार तिब्र बनाई धेरै भन्दा धेरै पोर्तुगिज पर्यटक लाई नेपाल भित्र्याउन एक पर्यटन बोर्ड को स्थापना।
२. बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने संदेश बिश्वब्यापी गर्न बुद्ध सम्बन्धि प्रदर्शनी र डकुमेन्ट्रीहरुको प्रदर्शन।
३. दुई देश बीचको आयात् निर्यात बढाउन पोर्चुगल-नेपाल च्याम्बर अफ कमर्श को स्थापनाको लागी पहल गर्नु पर्ने।
४. पोर्चुगलमा जन्मिएका नेपाली बालबालिकाहरु लाई भाषा र संस्कृतिको ज्ञान दिन एक आधारभूत पाठशाला संचालन।
५. रोजगार मुलक तालिम र भाषा कक्षाको नियमितता।
६. कार्यालयको नियमितता र ब्यबस्थापन।
(लेखक नेपाल पत्रकार महासंघ युरोप शाखा का सदस्य हुन् )