ग्याँस उद्योगीहरुद्धारा सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै पुनः उद्योग नै बन्द गर्ने चेतावनी

काठमाडौं  । ग्याँस उद्योगीहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरेको भन्दै पुनः उद्योग नै बन्द गर्ने चेतावनी दिएका छन् ।  नेपाल एलपी ग्याँस उद्योग संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनगरी संघले प्रस्तुत गरेको माग तीन दिनभित्र पूरा नगरे उद्योग बन्द गर्ने चेतावनी पनि दिएको हो ।


संघले आफूहरुको माग पूरा नगरे दुई रंगको ग्याँस सिलिण्डर कार्यान्वयनमा ल्याउन पनि असहयोग गर्ने समेत  धम्की दिएको छ । आफूहरुको माग पूरा गरेको एक साताभित्र दुई रंगको ग्याँस सिलिण्डर प्रयोगमा ल्याउने गरी सहयोग गर्ने पनि संघले जनाएको छ ।


संघले ढुवानी, ओभरहेड खर्च, डिलर कमिशन लगायतमा खर्च समायोजन गरी समय सापेक्ष बनाउनुपर्ने माग गरेको छ । संघले राष्ट्र बैंकको मूल्य बृद्धिको तथ्यांकको आधारमा ओभरहेड खर्चमा समायोजन गरिनुपर्ने माग गरेको छ ।


ग्याँसको मूल्यमा थपघट हुँदा सोही अनुपातमा उद्योगहरुको मुनाफा प्रतिशतमा थपघट हुने गरी स्वचालित व्यवस्था गर्नुपर्ने लगायतका माग आफूहरुले उठाउँदै आएको महासचिव कुशप्रसाद मल्लीले हामीसँग बताए ।


सरकारले विभिन्न आयोग र समिति बनाएर माग सम्बोधन गर्ने अभिनय मात्रै गरेको संघको आरोप छ ।  


रासस