शिक्षक सेवा आयोगले १७ वर्षपछि लिइरहेको स्थायी शिक्षक छनौट परीक्षा जारी

काठमाडौं  । शिक्षक सेवा आयोगले १७ वर्षपछि लिइरहेको स्थायी शिक्षक छनौट परीक्षाको दोस्रो दिन आज निम्न माध्यमिक तहका शिक्षकहरु सहभागी हुँदैछन् । यसका लागि एक लाख ६८ हजार १ सय ८४ जनाले परीक्षा दिँदैछन् । 
यसअघि हिजो देशभरका २ सय ५२ वटा केन्द्रमा माध्यमिक तहका ६१ हजार ६ सय २० जनाले परीक्षा दिएका थिए । वर्र्षौदेखि अस्थायी रुपमा अध्यापन गर्दै आएका र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएकाहरु परीक्षामा सहभागी भएका छन् । 
यस पटक अस्थायी र राहत शिक्षकले परीक्षामा उत्तीर्ण भए सोही पदमा स्थायी हुने र उत्तीर्ण नभए पनि साविककै पदमा काम गर्न पाउने छुट दिइएको छ । आयोगले ६ महिनाभित्रै नतिजा निकाल्ने जनाएको छ । 
शिक्षक परीक्षाका कारण देशभरका अधिकांश विद्यालय बन्द गरिएका छन् । परीक्षाका लागि १ हजार ८ सय ४७ केन्द्राध्यक्ष, ३ हजार ६ सय ९४ सहायक केन्द्राध्यक्ष, २ हजार ४ सय ३८ निरीक्षक, ७ हजार ३ सय ८८ सहयोगी कर्मचारी र १८ हजार ४ सय ७० सुरक्षाकर्मी परिचालन गरिएको छ । 
परीक्षाका लागि ५५ हजार ४ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको आयोगका उपसचिव नारायण भटट्राईले जानकारी दिए । परीक्षालाई अव्यवस्थित र अमर्यादित बनाउने निरीक्षक, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्कासन गर्ने, ६ महिनासम्म थुनामा राख्ने वा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था निर्देशिकामा रहेको छ ।
माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि १३ हजार ५९ शिक्षक पदमा पुग्न चार लाख ८० हजार ७ सय ५८ परीक्षार्थी प्रतिस्पर्धा गर्दैछन् । भोलि प्राथमिक तहका लागि २ लाख ५० हजार ९ सय ५४ जनाले परीक्षा दिंदैछन् । तीनै तहको परीक्षा दिउँसो २ बजेदेखि ५ बजेसम्म तोकिएको छ ।
RSS