काबुल । अफगानिस्तानको राजधानी काबुलमा तालिवानी आक्रमणमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ । त्यहाँस्थित संयुक्त राष्ट्रसंघीय कार्यालय अगाडि लामो समयसम्म तालिवानी लडाकू र सुरक्षाकर्मीबीच भएको दोहोरो भिडन्तमा दुई अफगानी नागरिक, एक अफगानी सुरक्षा अधिकारी र पाँच तालिवानीहरुको ज्यान गएको हो ।
घटनामा एक नेपाली पनि मारिएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएपनि अफगानिस्तानमा रहेका नेपाली पत्रकार सुवेल भण्डारीले भने कुनै नेपाली नमारिएको बताएका छन् ।
घटनामा चार जना नेपाली सुरक्षा गार्ड घाइते भएको बताउँदै भण्डारीले चारै जना घाइते नेपालीहरु सुरक्षित रहेको भनी माइक्रोब्लगिङ साइट ट्वीटरमा उल्लेख गरेका छन् ।
घटनामा अन्य चार मुलुकका विदेशी, दुई सुरक्षाकर्मी र दुई अफगानी नागरिक पनि घाइते भएका छन् । आक्रमणबाट आप्रवासन संगठनको गेष्ट हाउस पनि क्षतिग्रस्त भएको छ ।