नयाँदिल्ली । भारतको छत्तिसगढमा सशस्त्र हिंसा गरिरहेको माओवादी पार्टी नक्सलवादीको आक्रमणमा १७ जना मारिएका छन् । मारिनेमा कांग्रेस पार्टीका तर्फबाट पूर्व मन्त्री महेन्द्र कर्मा, पूर्व सभासदहरुसमेत रहेका छन् । कांग्रेसको परिवर्तन यात्रा भइरहेका समयमा नक्सलीले ठूलो आक्रमण गर्दा निकै जना घाइते भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
महेन्द्र नक्सलविरोधी अभियानका नेता मानिन्थे । आक्रमणमा प्रहरी पनि मारिएका छन् । विद्रोहीले कांग्रेसका प्रदेश अध्यक्ष नन्दकुमार पटेल र उनका छोरालाई अपहरण गरेका छन् । पूर्व मूख्य मन्त्री विद्याचरण शुक्लका पेटमा गोली लागेको खबर छ । यात्रामा करिब एक सय २० जना सामेल रहेका थिए ।
२० वटा गाडीमा रहेका उनीहरु जीरम घाँटीमा पुगेलगत्तै माओवादीले रुख ढालेर बाटो छेकी अन्धाधुन्ध गोली बर्षाएका थिए । हातहतियारलेयुक्त दुई सयभन्दा बढी माओवादी विद्रोहीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनीहरुले बारुदी सुरुङ विष्फोटसमेत गराएका थिए । यसै वर्ष हुने प्रदेश चुनावलाई ध्यान दिएर कांग्रेसले गएको १२ अप्रिलदेखि यस्तो यात्रा गरिरहेको थियो । राज्य सरकारले तीन दिनको राजकीय शोकको घोषणासमेत गरेको छ ।
Agencies