काठमाडौं । ग्याँस उद्योगीहरुले कमिसन बृद्धि लगायतका आफूहरुका माग सम्बोधन नगरेको भन्दै उद्योग नै बन्द गर्ने सम्मका विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेपाल एलपी ग्याँस उद्योग संघले सोमबार राजधानीमा पत्रकार सम्मेलनगरी संघले प्रस्तुत गरेको माग पूरा नगरेको भन्दै उक्त चेतावनी दिएको हो ।
संघले ढुवानी, ओभरहेड खर्च, डिलर कमिशन लगायतमा खर्च समायोजन गरी समय सापेक्ष बनाउनुपर्ने माग गरेको छ । संघले राष्ट्र बैंकको मूल्य बृद्धिको तथ्यांकको आधारमा ओभरहेड खर्चमा समायोजन गरिनुपर्ने माग गरेको छ ।
ग्याँसको मूल्यमा थपघट हुँदा सोही अनुपातमा उद्योगहरुको मुनाफा प्रतिशतमा थपघट हुने गरी स्वचालित व्यवस्था गर्नुपर्ने लगायतका माग आफुहरुले उठाउँदै आएको अध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।