निर्वाचन ऐन संशोधनपछि मात्रै चुनावको मिति घोषणा हुने

काठमाडौं । प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रले निर्वाचन ऐन संशोधनको मस्यौदामा सहमति भएपछि मात्र निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ । संयन्त्रका संयोजक एमाले अध्यक्ष झलनाथ खनालको अध्यक्षतामा आज अपरान्ह नयाँबानेश्वरमा बसेको संयन्त्रको वैठकले ऐनको मस्यौदामा सहमतिको लागि गृहकार्य गर्न आठ सदस्यीय कार्यदलसमेत बनाएको छ ।


कार्यदलमा एमाओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, नेपाली कांग्रेसबाट रामशरण महत र मिनेन्द्र रिजाल, नेकपा एमालेबाट रघु पन्त र अग्नी खरेल तथा मधेशी मोर्चाबाट हृदयेश त्रिपाठी र जीतेन्द्र देव छन् ।


कार्यदलले सहमतिको मस्यौदा तयार गरेपछि आगामी २० गते संयन्त्रको बैठक गरी निष्कर्षमा पुग्ने सहमति पनि भएको बैठकपछि नेताहरुले जानकारी दिए ।
 
यस अघि कांग्रेस र एमाले पहिले ऐन संशोधनको पक्षमा थिए भने एमाओवादी र मधेशी मोर्चा पहिले निर्वाचनको मिति घोषणा गरेर छलफल गर्नुपर्ने पक्षमा थिए ।


निर्वाचनका सन्दर्भमा दलहरुबीच समानुपातिकतर्फ एक प्रतिशत थ्रेसहोल्डको व्यवस्था, फौजदारी अभियोगका दोषीले निर्वाचनमा उम्मेदवार हुन नपाउने एवं उम्मेदवारले सम्पत्ती विवरण बुझाउनुपर्ने प्रावधान, संविधानसभाको सदस्य संख्या लगायतका विषयमा तीब्र मतभेद रहँदै आएको छ ।


आजको वैठकमा पनि यी विषयहरुमा सामान्य छलफल भएपनि सहमति जुट्न नसकेपछि कार्यदल गठन गरिएको हो । बैठकमा त्रिविले स्ववियु निर्वाचन स्थगित गरेकोमा आश्चर्य व्यक्त गरिएको पनि जनाइएको छ ।

 

rss