श्रीमान् अध्यक्षज्यू,
अन्तरिम मन्त्रिपरिषद्, नेपाल सरकार
सिंहदरबार, काठमाडौं
महोदय,
२०४६ सालमा स्वास्थ्यसेवामा प्रवेश गरेयता मैले देशका दुर्गम ठाउँका जनताको सेवामा समर्पित गर्दै आएको हुँ । साथै म सेवामा प्रवेश गर्दा गाउँघरका दीनदुःखी जनताको सेवा गर्ने चिकित्सक औंलामा गन्न सकिने हुन्थे । त्यस मध्येको एक म पनि हुँ, श्रीमान अध्यक्षज्यूलाई यो कुरा पुनः स्मरण गराउन चाहन्छु । मैले सेवा अवधिभरि पुरै दुर्गम ठाउँमा बसेर काम गरिरहें। माओवादी द्वन्द्वग्रस्त जिल्लामा बसेर लगातार १२ वर्ष काम गर्दा पत्तै नपाई मलाई क्यान्सर भएछ । क्यान्सरको औषधी निकै महँगो छ । सरकारको नियमअनुसार पाउने रकमले दुई महिना पनि औषधी गर्न पुग्दैन । त्यसैले सरकारबाट थप सहयोगको आश गरेको छु ।
यस सन्दर्भमा सिंहदरबारमा बसेर काम गर्ने कर्मचारी र दुर्गममा बसेर सेवा गर्नेलाई एउटै धरातलमा राखेर नहेरियोस् । जीवनभर राष्ट्रको सेवामा खट्ने कर्मचारी बिरामी पर्दा उपचार गर्ने जिम्मेवारी राज्यको हुनुपर्ने होइन र ? स्वास्थ्य मन्त्रालयले उत्कृष्ट सेवा गरेका चिकित्सक भनी घोषणा गरिएका व्यक्तिको उपचार गर्नु राज्यको दायित्व होइन र ? के मैले गरेको सेवाको पुरस्कार यही हो, जबकि म क्यान्सर लागेर उपचार खर्चको अभावमा भौंतारिनुपर्ने ? क्यान्सर रोगको थप उपचारका लागि १० महिनादेखि सरकारसँग आर्थिक सहयोग माग गरिरहेछु । तर पाउन सकेको छैन । त्यसैले यसतर्फ अध्यक्षज्यूको ध्यान पर्छ कि ? भनी यो पत्र कोरेको हुँ ।
यदि राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारिदेओस्, कि देह त्याग्ने अनुमति देओस् । हैन भने म क्यान्सरको पीडा सहेर बाँच्न सक्दिनँ । अध्यक्षज्यूको जो आज्ञा ।
निवेदक