सिरियाली राष्ट्रपति असादद्धारा ईजरायलले आफ्नो भूमिमा हवाई आक्रमण गरेको खण्डमा कडा जवाफ दिने चेतावनी

दमस्कस  । सिरियाली राष्ट्रपति बशार अल असादले ईजरायलले आफ्नो भूमिमा हवाई आक्रमण गरेको खण्डमा कडा जवाफ दिने चेतावनी दिएका छन् । सिरियाली भूमिमाथि ईजरायलले बेलाबेलामा गर्दै आएका हवाई आक्रमणप्रति लक्षित गर्दै राष्ट्रपति असादले कडा चेतावनी दिएका   छन् ।
 
सिरियासँग सीमा जोडिएको गोलान हाईट्समा ईजरायल विरुद्ध सैन्य कारवाही थाल्न आफ्नो मुलुकमाथि चर्को दबाब भएको समेत राष्ट्रपति असादको भनाई छ ।
लेबनानको एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्ताको क्रममा असादले आफ्नो देश र जनताको रक्षाको लागि सिरिया जुनसुकै कदम चाल्न तयार रहेको प्रष्ट पारे । रुसले हालै सिरियालाई एण्टी एयरक्राफ्ट मिसाईल दिएपछि छिमेकीमुलुक ईजरायलले आफ्नो सुरक्षामाथि गम्भीर चुनौती बढेको प्रतिक्रिया दिएको थियो । 
यसैको प्रतिउत्तरमा सिरियाली राष्ट्रपति असादले ईजरायल विरुद्ध सम्भावित सैन्य कारवाहीको चेतावनी दिएका हुन् ।
एजेन्सी