दुर्गालाल केसी
दाङ – मुक्त कमलरीले आह्वान गरेको बन्दका कारण आज विहानैदेखि दाङ लगायत तराईका २२ जिल्लाको जनजीवन प्रभावित भएको छ । कमलरीको हत्या, वेपत्ता र यौनशोषणका दोषीमाथि कार्वाहीको माग र कमलरीको आन्दोलनमाथि प्रहरीले गरेको दमनको बिरोधमा मुक्त कमलरीले आजदेखि अनिश्चितकालिन तराई बन्दको आह्वान गरेका हुन् ।
बन्दका कारण यातायातका साधन, शिक्षण संस्था, उद्योग धन्दा र कलकारखाना बन्द भएका छन् । जेठ १७ गतेदेखि धर्ना दिइरहेका कमलरीमाथि प्रहरीले बल प्रयोग गर्दा काठमाडौ र दाङमा गरी १३ जना घाइते भएका थिए । आइतबार प्रहरीले काठमाडौमा निर्मम तरिकाले कुटपिट गर्नुका साथै सोमबार दाङमा ५४ जनालाई पक्राउ गरेको थियो ।
पूर्व कमलरीको साझा संस्था मुक्त कमलरी विकास मञ्चका अनुसार हालसम्म पश्चिम तराइका ५ जना कमलरीको हत्या भएको छ । मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष मञ्जिता चौधरीका अनुसार हालसम्म पश्चिम तराइका २६ कमलरी वेपत्ता छन् भने २८ जना यौन शोषणमा परी बिचल्लीमा छन् । दाङ, बाँके, बदिैया, कैलाली र कञ्चनपुरमा अझै पनि ६ सय ४२ कमलरी रहेको र उनीहरु कुनै न कुनैखालको शोषणमा परिरहेको मञ्चले जनाएको छ ।
कमलरीमाथि भैरहेका समग्र दुव्र्यवहारको अन्त्य माग सहित ‘बालिका बचाउ’ नारा दिएर कमलरीले आन्दोलन थालेका छन् । कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समिति गठन गरेर दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका मुक्त कमलरी तथा पिडित परिवारले यसअघि राष्ट्रपति, मन्त्री परिषद् अध्यक्ष र गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाइसकेका छन् । ज्ञापनपत्रमा सुनुवाइ नभएपछि कमलरीले पश्चिम तराइका साथै राजधानीमा धर्ना थालेका हुन् ।