सर्वोच्चद्धारा रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउनुको कारण देखाउ आदेश जारी

काठमाडौ – प्रधानन्यायाधीशसमेत रहेको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीविरुद्ध दायर निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।


न्यायाधीश गिरिशचन्द्रलालको एकल इजलासले आज जारी गरेको सो आदेशमा १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन पनि भनिएको छ ।


न्यायपालिका र कार्यपालिका प्रमुख एकै व्यक्ति बन्नु लोकतन्त्र र शक्तिपृथकीकरणको सिद्धान्तविपरीत भएकाले अध्यक्ष रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने माग गर्दै यही जेठ १४ गते भरतमणि जङ्गमले निवेदन दर्ता गराएका थियो ।


उनले निवेदनमा प्रधानन्यायाधीशले संविधानको मर्म र भावनालाई लत्याएको र न्यायका मान्य सिद्धान्तलाई बेवास्ता गरेर सर्वोच्च अदालतको साख गुमाएको जिकिर गरेका छन् ।


निवेदनअघि एकै विषयमा पाँचवटा निवेदन दर्ता भइसकेको र निवेदकले उठाएका माग सर्वोच्चमा विचाराधीन निवेदनबाटै सम्बोधन हुने भएको भन्दै तत्कालीन निमित्त रजिस्ट्रार श्रीकान्त पौडेलले अघिल्लो दिन सो निवेदन फिर्ता गर्ने आदेश गरेपनि दोस्रो दिन भने दर्ता गरिएको थियो ।

– रासस