काठमाडौ, जेष्ठ २४ – काठमाडौं- निर्वाचन आयोगले कात्तिक २८ मा संविधानसभाको चुनाव तिथि घोषणा गर्न सरकारलाई सुझाव दिएको छ ।
‘हामीले सरकारलाई कात्तिक २८ मा निर्वाचन गर्नु उपयुक्त हुने सुझाव दिएका छौं,’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बिहीबार गणेशमान सिंह अध्ययन प्रतिष्ठानद्वारा आयोजित छलफल कार्यक्रममा भने, ‘सरकारले मंसिर ७ का लागि गृहकार्य गरेको सुनेको छु । हाम्रो अध्ययनअनुसार त्यो पनि ढिला हुन्छ ।’
आयोगको अनौपचारिक प्रस्तावको कुनै जवाफ नदिए पनि सरकारले मंसिरको पहिलो साताभित्र निर्वाचन गराउने बताउँदै आएको छ । आयोगले मौसम विज्ञान विभागको विगत ३० वर्ष देखिको तथ्यांकसमेत मगाएर अध्ययन गरेको उल्लेख गर्दै उनले मंसिर ५ पछि उच्च पहाडी क्षेत्रमा हिमपात सुरु हुनसक्ने भएकाले निर्वाचन जतिसक्दो चाँडो गर्नुपर्ने बताए ।
‘मंसिर ५ पुर्याउँदा पनि हिमाली भेगका कुनै क्षेत्रमा पुनः मतदान गराउनुपर्ने अवस्था आएमा अप्ठ्यारो पर्नसक्छ,’ उनले भने, ‘त्यसले कात्तिक २७ गतको ठूली एकादशीको भोलि वा पर्सिपल्टको तिथि उपयुक्त देखिएको हो । पहिले पनि यस्तै तिथिमा चुनाव भएको थियो ।’
राजेन्द्र फुयाल