कांग्रेस शेरबहादुर देउवा ५ दिने भ्रमणको लागि दिल्लीमा

काठमाडौ  – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा ५ दिने भ्रमणको लागि दिल्ली प्रस्थान गरेका छन् । उनी एयर इण्डियाको बिमानबाट १० बजेर १० मिनेटमा दिल्ली उडेका हुन् । देउवा साथमा पत्नी आरणु राणा र कांग्रेस नेता बिमलेन्द्र निधी पनि छन् ।


दिल्लीको होटल मौर्यमा बस्ने देउवाले त्यहीं विदेश सचिव रञ्जन मथाईसँग भोलि भेटवार्ता गर्ने कार्यक्रम छ । हैदराबाद हाउसमा विदेशमन्त्री सलमान खुर्सिदसँग भेट गरेपछि भोलि दिउँसो नै नेता देउवाले भारतीय कांग्रेसकी अध्यक्ष गान्धीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयका अनुसार देउवाले मंगलबार बिहान प्रधानमन्त्री सिंहसँग प्रधानमन्त्री निवासमै भेटवार्ता गर्नेछन् ।


बुधबार नेता देउवा उत्तराखण्डको देहरादून जाने र मुख्यमन्त्री विजय बहुगुणासँग भेट गर्ने कार्यक्रम तय भएको छ । देउवाले विपक्षी नेतृ सुष्मा स्वराजसँग पनि भेट गर्नुहुनेछ । देउवा नेपाली कांग्रेससँग आवद्ध भ्रातृ संगठन नेपाली जनसम्पर्क समितिले आयोजना गर्ने कार्यक्रममा पनि सहभागि हुनेछन् ।


एक महिनाअघि मात्र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर भारतले नेपालमा हुन लागेको संविधानसभा निर्वाचनबारे परामर्श गरेको थियो । कांग्रेसबाट सभापति सुशील कोइरालालाई दिल्ली भ्रमणका लागि निम्तो दिइएको भए पनि कोइरालाले अनिच्छा देखाएपछि देउवा जान लागेका हुन् । देउवापछि एमाले नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि भारत जाने कार्यक्रम छ ।

 

Rss