नेपालगन्ज नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन् । नगरका दुई वटा अस्पतालमा १ सय ५० जना भन्दा बढी विरामी उपचारका लागि पुगेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख जीवन मल्लका अनुसार भेरी अञ्चल अस्पतालमा ४२ र शिक्षण अस्पतालमा १३७ जना विरामी आइतवारसम्म उपचारका लागि भर्ना भएका छन् ।
आइतबार शिक्षण अस्पतालमा २२ र भेरीमा १४ नयाँ विरामी उपचारका लागि पुगेको जनस्वास्थ्यले जनाएको छ । अस्पतालमा पुग्ने विरामीहरु नगरका विभिन्न वडाका छन् ।
शिक्षण अस्पतालमा परिक्षणका क्रममा विरामीमा ८० प्रतिशत इन्टोमोवाहिस्टोलाइटिका जिवाणु पाइएको छ । जनस्वास्थ्य प्रमुख मल्लका अनुसार दुषित पानीमा यो जिवाणु पाइन्छ ।
दुई वर्षअघि साउनमा नेपालगन्जमा झाडापखालाबाट ६ र फत्तेपुरमा एक गरि ७ जनाको ज्यान गएको थियो भने छ सय बढि बिरामी भएका थिए । त्यसबेला परिक्षणका क्रममा झाडापखालाका बिरामीमा हैजाका जिबाणु रहेको पछि पुष्टि भएको थियो ।