सुर्खेत । दोहोरो बन्दको कारण आज दोस्रो दिन पनि कर्णाली राजमार्ग ठप्प बनेको छ । दैलेख बस दुर्घटनाको पीडित र यातायात व्यवसायीले आह्वान गरेको बन्दले राजमार्ग ठप्प बनेको हो । बन्दको कारण दैलेख, जाजरकोट, कालिकोट, जुम्लालगायतका जिल्लामा सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् ।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको नेपामा भएको बस दुर्घटनाका पीडित परिवारले आफ्ना माग पुरा नभएको भन्दै राजमार्गमा प्रदर्शन गरिरहेका छन् भने सुर्खेतका ७ वटा यातायात व्यवसायीले असुरक्षाको कारण देखाउँदै राजमार्गमा सेवा बन्द गरेका छन् । जेठ २२ गते नेपा गाविस ८ स्यालामा बस दुर्घटना भएको थियो ।