कृष्णबहादुर महरा संयोजकत्वको कार्यदलले पेश गरेको संगठन सुदृढीकरणसम्बन्धी प्रतिवेदनमा उल्लेखित जम्बो कमिटी प्रणालीप्रति राज्य र विभागीय इन्चार्जले आपत्ति जनाएका छन्। बिहीबार बोल्ने अधिकांश सदस्यले जम्बो कमिटी प्रणालीप्रति आपत्ति जनाउँदै पार्टी कमिटी सानो बनाउन सुझाव दिएको ताम्सालिङ राज्य समिति इन्चार्ज विश्वभक्त दुलालले बताए।
‘कार्यदलले पेश गरेको जम्बो केन्द्रीय समितिप्रति धेरै नेताले असहमत प्रकट गरेका छन्,’ दुलालले नागरिकन्युजसँग भने, ‘सानो र चुस्त कमिटी बनाउन केन्द्रीय कार्यालयसमक्ष माग गरेका छन्।’ उनका अनुसार जम्बो केन्द्रीय समितिका कारण समस्या आउने भन्दै राज्य समिति इन्चार्ज र विभागीय प्रमुखले सो धारणा राखेका हुन्।
महरा कार्यदलले ‘उत्पादन र निमार्णका लागि संघर्ष’ भन्ने महाधिवेशनबाट पारित कार्यनीतिलाई सहयोग गर्न ३ सय ९९ सदस्सीय केन्द्रीय समिति बनाउन केन्द्रीय समितिमा प्रस्ताव गरेको थियो। सो प्रस्तावमा राज्य समिति र विभागीय टोलीले सामूहिक छलफल गरी बिहीबारको केन्द्रीय समितिमा धारणा राखेका हुन्।