त्रिशुली नदीमा पौडि खेल्ने क्रममा बगेर ५ जना किशोर किशोरी बेपत्ता

विमल खतिवडा

 

चितवन, – त्रिशुली नदीमा पौडि खेल्ने क्रममा शनिवार अपरान्ह बगेर ५ जना किशोर किशोरी बेपत्ता भएका छन् । भरतपुरबाट पृथ्बीराजमार्ग अन्तर्गत कुरिनटार घुम्न गएका ४ किशोरी र १ किशोर बेपत्ता भएको सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारले जनाएको छ ।

 

बेपत्ता हुनेमा भरतपुर चौविस कोठीका रजनी रेग्मी,लिना रेग्मी,अस्मिता रेग्मी,मनिका रेग्मी र जनक राउत छन् । उनीहरु मध्ये सुसान्त रेग्मी सकुशल छन् । सार्वजनिक गाडी चढेर कुरिनटार घुम्न गएका उनीहरु दिउंसो १२ बजे कुरिनटारको रिभर साईट होटलमा खाजा खाएर नदी छेउमा खेल्न गएका थिए ।


सामान्य रुपमा पौडी खेल्दै गर्दा बगेपछि एकले अर्कोलाई बचाउने क्रममा ५ जना नै बगेर बेपत्ता भएको सशस्त्र प्रहरी बल बिपद ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका डिएसपी दीपेन्द्र गिरिले जानकारी दिए । राजमार्गबाट १ सय ५० मिटरको दुरीमा घट्ना भएकाले तालिम केन्द्रबाट प्रहरी निरिक्षक प्रद्युम्न थापाको नेतृत्व टोलीले नदीमा रेस्कु सामान सहित खोजी कार्य जारी राखेको छ ।

 

पानी घुम्ने ठाउंमा घट्ना घटेकाले खोजीमा कठिनाई भएको छ । सुशान्त भने पौडी नखेलेकाले नबगेको प्रहरीले जनायो । नदीमा बेपत्ता किशोरीहरु भने एकै परिवारको रहेको जनाईएको छ ।

 

सकुशल रहेका सुसान्त रेग्मीको साथमा रहेको क्यामेराबाट प्राप्त फोटोहरु । तस्विर सौजन्य : बिनोद श्रेष्ठ/ मुग्लिन –