जेनेभामा सिरिया संकटबारे सम्मेलन गर्न ओबामा र पुटिन सहमत

सिरिया मुद्दालाई हेर्ने विषयमा अमेरिका र रुसबीच ठूलो अन्तर देखिएको छ ।
 उत्तरी आयरल्याण्डमा भएको धनी राष्ट्रहरुको समूह जी एटको सम्मेलनका क्रममा दुई देशका राष्ट्रपति बाराक ओबामा र भ्लादिमीर पुटिनबीच भएको वार्ताका क्रममा यो अन्तर देखिएको हो । यद्यपि, जेनेभामा सिरिया संकटबारे सम्मेलन गर्न भने ओबामा र पुटिन सहमत भएका छन् । 
सिरियामा भैरहेको हिंसा अन्त्य गर्न पनि दुबै नेता सहमत छन् । दुई घण्टा लामो छलफलपछि पत्रकार सम्मेलनमा उपस्थित दुबै नेताको अनुहारमा निकै तनाव देखिएको पनि सञ्चारमाध्यमहरुले जनाएका छन् । ९३ हजार नागरिक मारिँदासम्म पनि समस्याको समाधान खोज्न सत्ता र विपक्ष दुबै पक्ष संवेदनशील नभएको निष्कर्ष दुई नेताको छ । 
स्वीट्जरल्याण्डमा गरिने भनिएको शिखर वार्ताका लागि पनि सिरियाली सत्ता र विपक्ष दुबै जिम्मेवार नरहेको दुबै नेताको भनाइ छ । इरानका सम्बन्धमा भने हालै भएको राष्ट्रपति निर्वाचनबाट आएको नयाँ नेतृत्वबाट समस्या समाधान गर्न सघाउ पुग्ने विश्वास दुई नेताले व्यक्त गरेका छन् । जी एट बैठकमा नेताहरुले विश्वको आर्थिक अवस्थाबारे छलफल गरेका छन् । बैठकमा धनी राष्ट्र अमेरिका, वेलायत, जापान, चीन, रुस, क्यानडा, फ्रान्स, इटलीका नेता सामेल छन् ।
Agencies