नयाँदिल्ली । लगातारको बर्षा र बाढीले भारतमा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । थुप्रै बेपत्ता भएका छन् ।
भारतको हिमाञ्चल र उत्तराखण्डमा सयौं सर्वसाधारण बिस्थापित भएका छन् । उत्तराखण्डमा मात्रै ४० जनाको मृत्यु भएको छ भने हिमाञ्चलमा १० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तराखण्डको गढवाल मंडलको राजमार्गको ६० भन्दा बढी स्थानमा बाढी पसेकाले सो क्षेत्रमा सम्पर्क बिच्छेद भएको छ । भारतको कुमाउ मण्डलको पिथौरागढ जिल्ला बढी प्रभावित भएको छ । सो गाउँको पूरै बस्ती नै बगाएको छ । उत्तराखण्डको बाढी उत्तरप्रदेशको सहारनपुरसम्म फैलिएको छ । सो स्थानमा १५ जनाको मृत्यु भएको बताईएको छ ।
पिथौरागढका काली, गोरी र धौली गंगा नदी कटान भई बस्तीमा प्रवेश गरेकोले त्यहाँका सर्वसाधारण अन्यत्र पलायन भएका छन् । चार धाम गएका हजारौं तीर्थयात्री बीच बाटोमै अलपत्र परेका छन् । भारतमा पछिल्लो ४८ घण्टा यता नै भारी बर्षा भइरहेको छ । भारत सरकारले बाढी प्रभावितलाई तत्काल अस्थायी बसोबासको ब्यबस्था गरेको छ ।
Agencies