उपचारका लागि मंगलबार बिहान टोकियो आएका राष्ट्रपति रामवरण यादव नेपाली समूदायसँग नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा तस्बिर खिचाउँदै । तस्बिर सौजन्यः ऋतुकुमार दुरा
काठमाडौं – सरकारले राष्ट्रपति रामवरण यादवलाई जापानमा उपचार गर्न ६० लाख रुपैयाँ निकासा दिएको छ ।
दुई महिनादेखि पखाला लागिरहने समस्याबाट पीडित यादवको राजधानीको ग्रान्डी अस्पतालमा सीटी स्क्यान गर्दा ठूलो आन्द्रामा गिर्खो देखिएको र त्यो क्यान्सर हुन सक्ने चिकित्सकको आशंकापछि मन्त्रिपरिषद्ले आकस्मिक बैठक बसी उनलाई सुविधासम्पन्न विशेषज्ञ अस्पतालमा उपचार गराउन सोमबार जापान पठाएको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ६० लाखमध्ये ३० लाख रुपैयाँ जापानस्थित नेपाली दूतावासलाई राष्ट्रपतिको उपचारका लागि खर्च बेहोर्न दिएको जानकारी प्रधानमन्त्री कार्यालय स्रोतले दिएको छ । स्रोतका अनुसार टोकियोस्थित अस्पतालमा राष्ट्रपतिको उपचारमा हुने सम्पूर्ण खर्च दूतावासले तिर्नेछ ।
बाँकी ३० लाख रुपैयाँ भने राष्ट्रपतिसँग गएको टोलीमा संलग्न उनका नातेदार, सल्लाहकार, कर्मचारी र सुरक्षाकर्मीका लागि दैनिक भ्रमण भत्ता र भैपरी खर्च लागि दिएको स्रोतले जानकारी दियो ।
प्रधानमन्त्री कार्यालयका ती अधिकारीले राष्ट्रपतिको उपचार गराउन सहयोगी टोलीको आकार ठूलो भएको र अनावश्यक व्यक्तिसमेत रहेको टिप्पणी गर्दै राष्ट्राध्यक्षले लाने भनेपछि मन्त्रिपरिषद्ले स्वीकृति दिएको टिप्पणी गरे । ती अधिकारीले राष्ट्रपतिको साथमा कानुनी सल्लाहकार र तीन/तीन जना सुरक्षाकर्मी जानु अनावश्यक भएको र त्यसले फजुल खर्च बढाउने बताए ।
राष्ट्रपतिका साथमा सरकारतर्फबाट परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल निरञ्जनमानसिंह बस्नेत, छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, कानुनी सल्लाहकार सूर्य ढंगेल, सहयोगी गोरखबहादुर तामाङ र तीन सुरक्षाकर्मी गरी १० जनाको टोली गएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले राष्ट्रपतिको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय गरी ६० लाख रुपैयाँ दिएको हो । सरकारले राष्ट्रपतिको उपचार तथा उनको टोलीको जापान बसाइँ र आतेजाते दिइएको रकमले पुगेन भने थप दिने जानकारी प्रधानमन्त्री कार्यालयका एक अधिकारीले दिए । सहयोगी टोलीले जापानमा आउजाउ र बस्दा लागेको खर्चको बिल, भर्पाई सरकारलाई पेस गरी लिएको रकमको पेस्की फर्छोट गर्नुपर्नेछ ।
ekantipur