कैलाली । अविरल वर्षाका कारण उच्च रहेका कर्णाली र महाकाली नदीमा आजबाट पानीको सतह घटेको छ ।
पानीको सतह घटेपनि नदीले कटान भने जारी नै राख्दा क्षतिको बिबरण आउन सकेको छैन । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसकर्मी र सर्वसाधारणले उद्दार गरिरहेका छन् ।
बाढीबाट सुदूरपश्चिमको दार्चुला, कैलाली र कञ्चनपुरमा बढी क्षति पुगेको छ भने बर्दिया जिल्ला पनि प्रभावित बनेको छ । हालसम्म दार्चुलामा बाढीले ७९ घर बगाएको छ । कैलालीमा टिकापुर नगरपालिका सहित आधा दर्जन गाविस डुवानमा परेको छ । कञ्चनपुरमा २ सय घरपरिबार र बर्दियामा ६ सय ५० घर परिवार बिस्थापित भएका छन् ।
बिस्थापितहरु नजिकैको विद्यालय भवन, आफन्तको घर र वन क्षेत्रमा पाल टाँलेर बसेका छन् ।
बाढी प्रभावितलाई स्थानीयस्तरबाट राहत बितरण गरिएको छ । अविरल वर्षापछि आएको बाढीले विभिन्न जिल्लामा खेतीयोग्य जमिन बगाएको छ । पहिरोले सडक भत्काएपछि सुदूरपश्चिमका पहाडी भेगका यातायात सेवा समेत अवरुद्ध भएको छ ।
RSS