कामको खोजिमा भारतको उत्तराखण्ड राज्यको गौरिकुण्ड गएका जाजरकोटका ६ युवाको बाढीले बगाएर मृत्यु

राजेन्द्र नाथ

 

नेपालगन्ज – दश जोड दुईको परीक्षा दिएर कामको खोजिमा भारतको उत्तराखण्ड राज्यको गौरिकुण्ड गएका जाजरकोट टालेगाउँका ६ युवाको बाढीले बगाएर मृत्यु भएको छ ।


सँगै गएका साथीले टेलिफोन मार्फत् घरमा खबर गरेपछि घटना थाहा भएको हो । उनीहरुको केदार धाम जाने बाटोमा अचानक आएको बाढीपहिरोमा परी मृत्यु भएको खबर सँगै गएका दलबहादुर सिंहले दिएको जाजरकोट प्रहरीले जनाएको छ ।


उक्त दुर्घटनामा टालेगाउँ-४ का २७ बर्षीय अभिबहादुर सिंह, २० बर्षीय गणेशबहादुर सिंह, २१ का बखतबहादुर सिंह, २२ का धिरेन्द्रबहादुर सिंह, १९ बर्षीय  बीरेन्द्र ब सिंह र टालेगाउँ ७ का १८ बर्षीय हरीबहादुर शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।


२७ बर्षीय अभि बीएडमा पढ्थे । अरु सबै १२ कक्षाको परीक्षा दिएर काम खोज्न भारतको उत्तराखण्ड गएका हुन् । मृत्युको खबरले टालेगाउँ शोकमग्न छ । एउटै गाउका धेरै युवकले दुर्घटनामा ज्यान गुमाएकाले गाउँले गहिरो शोकमा परेका छन् ।