मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी सहितको टोलीले पश्चिम नेपालको बाढी र पहिरो प्रभावित जिल्लाहरुको भ्रमण गरी पीडितहरुलाई राहत वितरण गरेका छन्।
सरकारले बेवास्ता गरेको भन्दै राहत लिन नमानीरहेका त्यस क्षेत्रका पीडितहरुलाई अध्यक्ष रेग्मी आफै पुगेर राहत सामग्री बाँडेका थिए।
लगातारको वर्षाका कारण आएको बाढीबाट सबैभन्दा बढी प्रभावित दार्चुला जिल्लामा भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले ५० करोड रुपियाँ उपलब्ध गराउने घोषणा पनि गरेको छ।
बाढी पहिरोका कारण देशभरमा मर्नेहरुको संख्या ३९ पुगेको गृह मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको निरीक्षण र राहत वितरणकालागि बिहीबार बिहानै निरीक्षणमा गएका मन्त्रिपरिषदका अध्यक्ष रेग्मी सहितको टोलीले सबैभन्दा बढी प्रभावित दार्चुलाबाट भ्रमण शुरु गरेको थियो।
सरकारले आफुहरुलाई बेवास्ता गरेको भन्दै बुधबार पुगेको केही राहत लिन नमानेका त्यहाँका पीडितहरुले रेग्मी पुग्दा नाराबाजी गरेको त्यहाँका पत्रकार नरेन्द्र कार्कीले बताए।
पीडित मध्ये घरबारविहीन भएका र विस्थापित भएका प्रति परिवारलाई ३५ हजार रुपियाँका दरले रकम दिने घोषणा अध्यक्ष रेग्मीले गरेका छन्।
सरकारले बाढीमा ज्यान गुमाएकाको परिवारलाई राहतस्वरुप प्रति परिवार ४० हजार रुपियाँ उपलब्ध गराउने निर्णय यस अघि नै गरी सकेको थियो।
बाढीका कारण क्षति पुगेका भौतिक संरचना पुनर्निर्माण गर्न दार्चुला जिल्लालाई ५० करोड रकम दिने घोषणा पनि अध्यक्ष रेग्मीले गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारीले बताए।