काठमाडौँ – नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा संविधानसभाको निर्वाचनमा जान नसकिए पनि बहिष्कारको बारेमा अन्तिम निर्णय भने भई नसकेको बताएका छन्। उनले मङ्सिर ४ गतेको मिति र निर्वाचन कार्यतालिकासहितको प्रक्रिया रोकिए वार्तामा बसेर सहमतिको आधारमा चुनावमा सहभागी हुन सकिने बताएका छन्।
‘हामीले बहिष्कार अझै भनेका छैनौँ तर यथास्थितिमा चुनावमा जान सक्दैनौँ बहिष्कार हुन्छ भने पनि त्यसबारेमा अन्तिम निर्णय भने भइसकेको छैन, केन्द्रीय समितिको बैठक बसेर त्यसमा निर्णय हुन बाँकी नै छ,’ राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले भने।
हीरामणि दुःखीद्वारा लिखित ‘स्मृतिका कुईनेटा’ कृतिको विमोचन गर्दै उनले मङ्सिर ४ गतेको तिथि र निर्वाचन कार्यतालिकालगायतका प्रक्रिया रोकियोस् र त्यो विषय थाँती राखेर अरु विषयमा हामी वार्ता छलफल गर्न तयार छौँ भन्दै सबैको सहमतिको आधारबाट चुनावको प्रक्रियामा जान सकिने बताए।
उनले जनयुद्धको गरिमा र विचार बोकेको पार्टीलाई बाहिर राखेर संविधान बनाउन सकिँदैन भन्दै संविधान बनाउने प्रक्रियामा सबै सम्मिलित हुनुपर्नेमा जोड दिए।
‘अहिलेको अवस्थामा मङ्सिर ४ गते संविधानसभाको निर्वाचन हुन सक्दैन, भइहाले पनि जनताको संविधान बन्नेवाला छैन,’ अध्यक्ष वैद्यले भने।
उनले चार दलबीच भएको सम्झौता खारेज हुनुपर्ने, सबै दलको गोलमेच सम्मेलनसहितको दलको नेतृत्वमा सरकार बनाउनुपर्ने र नयाँ संविधानका अन्तरवस्तुका बारेमा छलफल चलाएर संविधान बनाउने भएमा मात्र आफूहरु सहभागी हुने बताए।
शमी सम प्रकाशन गृहले प्रकाशन गरेको सो कृतिको बारेमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, प्रगतिशील लेखक सङ्घ नेपालका अध्यक्ष अमर गिरी, प्रगतिशील लेखक नरेन्द्रजङ्ग पिटर र कृतिका लेखक हीरामणि दुःखीले प्रगतिशील साहित्य र नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक धारबारेमा प्रकाश पारेका थिए। रासस