काठमाडौ – नेपाल विद्यार्थी संघको महाधिवेशन भदौ २८ देखि ३० गतेसम्म राजधानीमा हुने भएको छ । पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा बुधबार पदाधिकारी र नेविसंघ नेतृत्वबीचको छलफलले मिति तोकेको हो ।
संघका अध्यक्ष रञ्जित कर्णले असोज पहिलो सातामा मिति तोक्ने तयारी गरेका थिए । सभापति कोइरालाले त्यतिबेला संविधानसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनको समय पर्ने र महासमिति बैठकले पनि भदौ मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सक्ने निर्णय गरेको स्मरण गराएपछि उक्त मिति तोकिएको हो ।
यसअघि पनि महाधिवेशन मिति दुई पटक तोकिए पनि आन्तरिक विवादका कारण स्थगित हुँदै आएको थियो । पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता शेरबहादुर देउवा समूहबीचको टकरावका कारण पार्टी एकतादेखि नै संघको अधिवेशन हुन सकेको छैन ।
यसपालि देउवा समूहको समेत सहमतिमा मिति तोकिएको छ । नेविसंघका अध्यक्ष रञ्जित कर्णले विवाद नरहेकाले महाधिवेशन हुनेमा शंका नगर्न आग्रह गरे । ‘सहमतिका साथ मिति तय भएको छ । यसलाई औपचारिक रूपमा हामी केही दिनमै घोषणा गर्छौं,’ उनले भने, ‘अबको महाधिवेशनले नेविसंघलाई सक्रिय बनाउूछ र त्यसले संविधानसभा निर्वाचनमा समेत पार्टीलाई ठूलो ऊर्जा दिनेछ ।’
संघले यसअघि नै १९ जिल्ला अधिवेशन ४५ जिल्लामा क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भइसकेकाले अब समस्या नरहेको बताए । देउवा समूहबाट विद्यार्थी नेता ऋषिकेशजंग साहले अब तोकिने महाधिवेशनमा कुनै समस्या खडा नहुने बताए । ‘चार- पाँचवटा जिल्लामा विवाद छ । त्यसलाई विघटन गरेर या छानबिन गरेर समस्या समाधान गर्दैछौं,’ उनले भने, ‘अधिवेशनमा केन्द्रबाट खटिएर जाने प्रतिनिधिले प्रक्रिया नपुर्याई जबर्जस्ती टाूसेमा त्यस्तो प्रतिनिधिलाई निलम्बन गर्ने सहमति भएकाले समस्या उब्जदैन ।’
RSS