इजिप्टमा राष्ट्रपति मुर्सीले सत्ता सम्हालेको एक वर्ष पूरा भएकोमा परस्पर विरोधी प्रदर्शनहरु

इजिप्ट  । इजिप्टमा राष्ट्रपति मोहम्मद मुर्सीले सत्ता सम्हालेको एक वर्ष पूरा भएकोमा परस्पर विरोधी प्रदर्शनहरु भएका छन् । हजारौं विपक्षीहरु राजधानी कायरोको ताहरिर स्क्वायर र राष्ट्रपति भवनबाहिर जम्मा भएर प्रदर्शन गरेका छन् । विपक्षीहरुले इस्लामिक राष्ट्रपति मुर्सीले राजीनामा दिनुपर्ने र नयां चुनावको माग गरेका छन् ।


शुक्रवार यता अलेक्जेन्ड्रिया लगायतका शहरमा मुर्सीका समर्थक र विरोधीबीच झडपका क्रममा एक जना पत्रकार सहित दुई जनाको मृत्यु भईसकेको छ । प्रदर्शनकारीहरुले हिजो मात्र कायरोमा रहेको सत्तारुढ मुश्लिम ब्रदरहुडको मुख्यालयमा आगजनी गरेका थिए । उता मुर्सीको समर्थनमा पनि विभिन्न शहरमा प्रदर्शन भएको समाचारमा जनाइएको छ ।


इजिप्टमा होस्नी मुबारकको ३२ वर्षे शासनको अन्त्यपछि मुर्सी जननिर्वाचित पहिलो राष्ट्रपति हुन् । मु्र्सीले शासन सम्हालेपछि पनि उनले जनभावना अनुरुप काम गर्न नसकेको भन्दै विपक्षीहरु असन्तुष्ट रहँदै आएका छन् । त्यहां अहिले बेरोजगारी दर उच्च छ भने भष्टाचार र असुरक्षा ह्वात्तै बढेको बताइन्छ ।

 

Agencies